सगरमाथा आधार शिविर क्षेत्रबाट एक सातादेखि हराइरहेका पर्यटन श्रमिक हिलारी भनिने दावा शेर्पा आज बिहान गम्भीर अवस्थामा भेटिएका छन् । यद्यपि उनी सचेत अवस्थामै छन् ।

सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) श्रमिकहरुले उनलाई आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिदै आइरहेको अवस्थामा फेला पारेर उद्दार गरेका थिए । आरोहीहरुको सहयोगीका रुपमा गएका ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका शेर्पा एक सातअघि आधार शिविर फर्किने क्रममा हराएका थिए । उनको खोजीका लागि सगरमाथाको तेस्रो शिविर आसपास हेलिकोप्टरबाट खोजी गर्दा समेत भेटिएका थिएनन् ।

उनी आज बिहान खुम्बु आइसफल क्रयाम्पन पोइन्ट छेउबाट आधार शिविरतर्फ घस्रिदै आएको अवस्थामा एसपीसीसीका कामदारले देखेर उद्दार गरिएको हो । हिउँले खुट्टा र हात खाएको अवस्थामा भेटिएका उनलाई प्राथमिक उपरचार गरी झोल खाना दिइएको छ । 

पर्वतरोहण क्षेत्रका अनुभवीहरुले उनी एक सातापछि जीवितै भेटिएको घटनालाई चमत्कार भनेका छन् ।