नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा विदेशका विभिन्न मेडिकल तथा डेन्टल कलेजमा अध्ययन गरेर फर्किएका विद्यार्थीको नतिजा कमजोर देखिएको छ । यसले विदेशमा पढ्न जानेहरूको शैक्षिक गुणस्तरीयता र सिकाइमै प्रश्न उब्जाएको छ । 

मेडिकल काउन्सिलले गत १२ देखि १५ जेठसम्म परीक्षा लिएको थियो । परीक्षामा बंगलादेशबाट एमबिबिएस सकेर फर्किएका ३६७ जना सहभागी थिए । सहभागीमध्ये १५१ जना (४१.१४ प्रतिशत) मात्रै पास भएका छन् । २१६ जना फेल भएको काउन्सिलले जनाएको छ । 

चीनबाट एमबिबिएस सकेर फर्किएका १३० जनाले परीक्षा दिँदा २० जना अर्थात् (१५ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन् । १०९ जना अनुत्तीर्ण भएका छन् । इजिप्टबाट एमबिबिएस पढेका दुई सहभागी भएकोमा उनीहरू अनुत्तीर्ण भएका छन् । भारतबाट एमबिबिएस सकेर लाइसेन्स परीक्षामा सामेल भएका २६ मध्ये ११ जना मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । लाइसेन्स परीक्षामा काजकस्तानको दुईमध्ये एकजना फेल र अर्का एकजनाको नतिजा रोक्का गरिएको छ । 

फिलिपिन्सबाट एमबिबिएस पढेका ४२ मध्ये १२ जना मात्रै पास भएका छन् । युक्रेनबाट एमबिबिएस पढेका एकजना सहभागी भएकोमा अनुत्तीर्ण भएका छन् । रसियाबाट पढेका तीनैजना अनुत्तीर्ण भएका छन् । पाकिस्तानमा पढेका ६ मध्ये चारजना उत्तीर्ण र साउदी अरबमा पढेका एकजना पास भएको काउन्सिलले जनाएको छ । 

तर, बिडिएसको लाइसेन्स परीक्षाको नतिजामा भने विदेशबाट अध्ययन गरेकाहरूको केही सुधार देखिएको छ । बंगलादेशबाट बिडिएस गरेका १५ मध्ये नौजना उत्तीर्ण भएका छन् । भारतमा पढेका १७ मध्ये १६ जना र नेपालबाट चार सयजना परीक्षामा सामेल भएकोमा ३४३ जना उत्तीर्ण भएका छन् । फिलिपिन्सबाट पासआउट एकजनाले परीक्षामा सहभागिता जनाएकोमा उनी फेल भएको काउन्सिलले जनाएको छ ।

परीक्षाामा दुई हजार २७१ ले फाराम भरेकोमा दुई हजार २६५ सहभागी भएका थिए । जसमध्ये एक हजार ५१५ जना उत्तीर्ण भएको काउन्सिलका निमित्त रजिस्ट्रार दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार अनुत्तीर्ण हुनेमध्ये नेपालमा भन्दा विदेशमा पढेका फर्किएकाहरू धेरै छन् । 

नेपालमै एमबिबिएस पढेकाहरूको नतिजा भने सन्तोषजनक देखिएको छ । परीक्षामा नेपालबाट एमबिबिएस गरेका एक हजार २५१ जना सहभागी भएकोमा (६३ जना (७६.७ प्रतिशत)उत्तीर्ण भएका छन् । 
नयाँ पत्रिका