भाग्यमा छ भन्दैमा डोका दुध दोएर अडिन्छ र ? स्थापित लोक उखान हो यो । अमेरिकाले डिपोर्ट गरेर हिजो राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिदिएकाहरुका हकमा यही उखान लागू भएको छ । दलालहरुलाई लाखौंलाख रुपैयाँ तिरेर, कत्रो दुःख व्इहोरेर, कति धेरै रङ्गिन सपनाहरु बुनेर उनीहरु अमेरिकी भूमिमा पुगेका थिए ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासी नीतिका कारण उनीहरु जस्तो पुगेका थिए, त्यो भन्दा दयनीय हालतमा फर्कन बाध्य भएका छन् । ३७ जना नेपालीहरुलाई अमेरिकाले डिपोर्ट गरेर गएराति काठमाडौं विमानस्थलमा ओरालिदिएको छ ।
अमेरिकाले चार्टर्ड विमानमार्फत गएराति ९ बजेतिर उनीहरुलाई त्रिभुवन विमानस्थलमा ल्याएर छाडिदिएको हो। अमेरिकाले हिजो विमानस्थलमा छाडिदिएकामा ३२ जना पुरूष र पाँच जना महिला छन्। डिपोर्ट भएकाहरूमध्ये केहीले आफ्नो सामान बोरामा हालेर ल्याएका थिए भने केहीले प्लास्टिकका झोलामा सामान च्यापेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए।
उनीहरुलाई विमानस्थलमा ओरालिँदा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली समेत त्रिभुवन विमानस्थलमै पुगेको थियो। प्रहरीले उनीहरुलाई विमानस्थलमै सामान्य सोधपुछ गरी सम्पर्कमा रहने गरी छाडिदिएको थियो । डिपोर्ट भएकाहरु दलालमार्फत अमेरिका पुगेका हुन सक्ने प्रहरीको आशंका छ । पीडितहरूले उजुरी दिएको खण्डमा प्रहरीले अनुसन्धान गर्न सक्छ।
तर, डिपोर्ट भएकाहरुले गएराति प्रहरीसँग त्यस विषयमा केही बोलेनन् । उनीहरु पीडामा भएकाले नबोलेका प्रहरीको अनुमान छ । दलालबाट ुपीडित हुन भने उनीहरुले पछि पनि उजुरी दिन सक्छन् । त्यसका लागि उनीहरुसँग समय छ । प्रहरीको साथ रहनेछ मानवबेचबिखन व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको भनाइ छ ।
अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी डिपोर्ट गरेको हो। ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिको शपथ खाएलगत्तै आप्रवासी नीतिमा थप कडाइ गरिएको छ ।
✏️ टिप्पणी लेख्नुहोस्