Nepalmuhar Full version →
समसामयिक

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

Nepalmuhar June 6, 2026
विगत पाँच वर्षदेखि एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई उनले पुरस्कार वितरण गर्दै आएका छन्
म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसर्इई मा उत्कृष्ट हुने विद्यार्थीलाई नगद एक लाख २० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका समाजसेवी कमल शाहीले एसइई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेका हुन् । रघुगङ्गा गाउँपालिका–२ र ३ राखुमा सञ्चालित तीन सामुदायिक विद्यालयबाट एसइई परीक्षा २०८२ मा ए प्लस ग्रेड ल्याउनेलाई जनही १० हजार र ए ग्रेड ल्याउनेलाई पाँच हजार पुरस्कार प्रदान गरिएको हो । 

यस वर्ष रघुगङ्गा माविबाट ए प्लस ग्रेड ल्याउने एक जना र ए ग्रेड ल्याउने सात जना, मुक्तिधाम माविबाट साधारण र प्राविधिक धारतर्फ ए प्लस ग्रेड ल्याउने तीन जना र ए ग्रेड ल्याउने ६ जना, ज्ञानोदय माविबाट ए ग्रेड ल्याउने एक जना र दृष्टिविहिन दुई जनालाई नगद पुरस्कार प्रदान गरिएको हो । 

शाहीले यस वर्ष ए प्लस ग्रेड ल्याउने चार जनालाई जनही १० हजार र ए ग्रेड ल्याउने १४ जना तथा दुई दृष्टिबिहीन गरी १६ जनालाई जनही पाँच हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरेका छन् । विगत पाँच वर्षदेखि एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई उनले पुरस्कार वितरण गर्दै आएका छन् । उनले चार जिपिए ल्याउने विद्यार्थीलाई जनही ५० हजार पुरस्कार दिने घोषणा गरेका थिए । 

मुक्तिधाम माविका विद्यार्थीलाई सोही विद्यालयमा पुरस्कार वितरण गरिएको छ भने ज्ञानोदय मावि र रघुगङ्गा माविका विद्यार्थीलाई रघुगङ्गा मावि पिप्लेमा पुरस्कार वितरण गरिएको हो । पिप्लेमा आयोजित कार्यक्रममा रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खिमबहादुर शाही, रघुगङ्गा माविका व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ शर्मा र प्रधानाध्यापक  रमेशसिंह ठकुरीले पुरस्कार वितरण गरे ।

त्यही अवसरमा शाहीले आफ्नो बुबाको सम्झनामा रघुगङ्गा माविमा स्थापना गरेका ६ लाख ११ हजार राशिको देवबहादुर शाही अक्षयकोषबाट रघुगङ्गा माविका सबै कक्षाका विद्यार्थीलाई विभिन्न विधातर्फ पुरस्कृत गरेका थिए।
एसइई परीक्षा घुगङ्गा गाउँपालिका