Nepal Muhar Full version →
समसामयिक

दसैँमा छ लाख ११ हजार बढीले छाडे काठमाडौँ

nepalmuhar October 2, 2025
दसैँको घटस्थापनादेखि हिजो नवौँ दिनको साँझसम्म छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । आज विजयादशमीको दिन पनि काठमाडौं उपत्यका नजिक घर भएकाहरु टीकाको शुभसाइतमा पुग्ने गरी भाडा वा निजी सवारी साधनबाट बाहिरिनेक्रम जारी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रह...

दसैँको घटस्थापनादेखि हिजो नवौँ दिनको साँझसम्म छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । आज विजयादशमीको दिन पनि काठमाडौं उपत्यका नजिक घर भएकाहरु टीकाको शुभसाइतमा पुग्ने गरी भाडा वा निजी सवारी साधनबाट बाहिरिनेक्रम जारी छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि नवमीको साँझसम्म छ लाख ११ हजार ६५७ जना यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौँ उपत्यका छाडेका छन्।

दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “अहिले राजधानी छाडेर जानेको सङ्ख्या बढेको छ, काठमाडौँ भित्रिने र बाहिरिने नाकामा सामन्य तरिकाले सवारी साधन चलिरहेका छन्।” घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या एक लाख १३ हजार ४१५ पुगेको छ। यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन्।

काठमाडौँ उपत्यकामा ७७ हजार ५४५ सवारी साधनबाट तीन लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भीड देखिएको थियो ।

काठमाडौँ दसैँ