त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा रहदा दैनिक न्यूनतम ४ सय जनासम्मलाई भिजिट भिसामा पठाएर प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म असुल गरेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धमान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ ।
अख्तियारले सहसचिव भट्टराईलाई आज अपरान्ह गृह मन्त्रालय परिसरबाटै नियन्त्रणमा लिएको हो । नियन्त्रणपछि अख्तियारले उनलाई केहीबेरअघि टंगालस्थित आफ्नो कार्यालयमा पुर्याएको छ ।
गृह मन्त्रालयले हिजो मंगरबार साँझ मात्र भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीबाट एकाएक गृह मन्त्रालयमा सरुवा गरेको थियो। अनि उनको स्थानमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई पठाउने निर्णय गरेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा दैनिक मानव तस्करी भइरहेको सूचना र उजुरीपछि अख्तियारले आज बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेर कम्प्युटरलगायतका कागजातहरू नियन्त्रणमा लिएको बताइएको छ।
भट्टराई २०७२ मा त्रिपाल काण्डमा समेत मुछिएका अधिकारी हुन् ।