Nepalmuhar Full version →
राजनीति

भिजिट भिसामा मानव तस्करी प्रकरण: छानबिन समितिले दियो टालटुले प्रतिवेदन

Nepalmuhar October 10, 2025
समिति नै तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका उच्चपदस्थलाई ‘क्लिन चिट’ दिने नियतसहित बनाइएको थियो, नभन्दै दैनिक ५० लाखसम्मको असुली धन्दाबारे छानबिन नै नगरी सामान्य सुधारका विषय समेटेर प्रतिवेदन तयार गरिएको छ । अध्यागमनबाट भिजिट भिसामा भएको असुली र मानव तस्करीको विषयमा गठन गरेको छानबिन समितिले टालटुले...

समिति नै तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका उच्चपदस्थलाई ‘क्लिन चिट’ दिने नियतसहित बनाइएको थियो, नभन्दै दैनिक ५० लाखसम्मको असुली धन्दाबारे छानबिन नै नगरी सामान्य सुधारका विषय समेटेर प्रतिवेदन तयार गरिएको छ ।

अध्यागमनबाट भिजिट भिसामा भएको असुली र मानव तस्करीको विषयमा गठन गरेको छानबिन समितिले टालटुले प्रतिवेदन दिएको छ । असुलीका विषयमा कुनै छानबिन नै नगरी सामान्य सुधारका विषय समेटेर तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाइँदै छ ।

विपक्षी दलहरूले लामो समय संसद् अवरोध गरेपछि केपी ओली नेतृत्वको तत्कालीन सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा भिजिट भिसाको सम्बन्धमा छानबिन समिति गठन गरेको थियो । समितिले ९ असोजमा प्रतिवेदन बुझाएकोमा बिहीबारको मन्त्रिपरिषद् बैठकले कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार प्रतिवेदनमा भिजिट भिसामा भएको अनियमितताको विषय केही उल्लेख छैन । भिजिट भिसाको विषयलाई कसरी नीतिगत रूपमा सम्बोधन गर्न सकिन्छ भनेर सुझाव मात्र दिइएको छ । समितिका सदस्यसचिवसमेत रहेका गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले समितिलाई समस्याबारे अध्ययन गर्ने कार्यादेश मात्र भएकाले सोहीअनुसार प्रतिवेदन तयार पारिएको बताउँछन् ।

विपक्षी दलहरूसँग भिजिट भिसामा भएको बदमासीको विषयमा छानबिन नै गर्ने सहमति भए पनि पछि ओली सरकारले समितिलाई अध्ययनको मात्र जिम्मेवारी दिएको थियो । छानबिन गर्दा गृह नेतृत्व नै तानिने भएपछि त्यसरी सुरुदेखि नै छलछाम भएको थियो ।

तत्कालीन गृहमन्त्री रमेश लेखकले नै अध्यागमनबाट भिजिट भिसाको नाममा असुली धन्दा चलाएको आरोप लागेपछि छानबिनको माग उठेको थियो । भिजिट भिसामा संस्थागत असुली चलेको आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई घुससहित पक्राउ गर्ने तयारी गरिरहँदा गृह मन्त्रालयले ७ जेठमा उनको सरुवा गरेको थियो । सरुवा गरेकै दिन आयोगले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । त्यसपछि यसमा गृहमन्त्रीमाथि समेत छानबिनको माग तीव्र भएको थियो । यद्यपि, सरकारले सुरुदेखि नै छानबिनसमेत गर्ने आँट गरेको थिएन । छानबिनका नाममा यसमा संलग्नलाई योजनाबद्ध रूपमा चोख्याइएको छ ।

अध्यागमनमा दिनमै ५० लाखभन्दा धेरै असुली हुने गरेको र सो पैसा गृह मन्त्रालयदेखि शक्तिकेन्द्रसम्म पुग्न गरेको अख्तियारको प्रारम्भिक छानबिनमा देखिएको थियो । रास्वपालगायत दलले भने सो विषयमा संसदीय समिति तथा जाँचबुझ आयोग गठनको माग गरे पनि सरकारले अस्वीकार गर्दै आएको थियो ।

अख्तियार पनि पुगेन राजनीतिक नेतृत्वसम्म
भिजिट भिसाका नाममा भएका असुलीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । तर, उसले पनि राजनीतिक नेतृत्वलाई छोएको छैन । सहसचिव तीर्थराज भट्टराई र उनका केही सहयोगीविरुद्ध भने पहिलो चरणमा मुद्दा दायरको तयारी गरेको छ । तिहारअघि नै मुद्दा दायर हुनसक्ने आयोगका एक अधिकारी बताउँछन् ।

भूमि आयोग खारेज
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय पनि गरेको छ । केन्द्रीय आयोगसहित जिल्लास्तरका समिति पनि खारेज गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले बताए ।

सुकुम्बासीलाई जग्गा बाँड्न अघिल्लो सरकारले आयोग गठन गरेको थियो । आयोगमा सबै जिल्लामा कार्यकर्ता भर्ना गरिएको थियो । बैठकले नेपाल प्रहरीका डिआइजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठको एआइजीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणको जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापनका लागि २० अर्ब रुपैयाँको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । बाढीपहिरोका कारण ठुलो क्षति भएको इलाम जिल्लालाई तीन महिना अवधिका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

त्यस्तै, तीन अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति, २०८१ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, अध्यागमन र भिजिट भिसाको सन्दर्भमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८१ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाइएको छ । नागरिक उड्डयन क्षेत्रका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले पेस गरेको प्रतिवेदन, २०८२ कार्यान्वयनका लागि पर्यटन मन्त्रालयमा पठाउने निर्णय भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
नवराज मैनाली/नयाँ पत्रिका

प्रतिवेदन भिजिट भिसा