Nepalmuhar Full version →
अर्थ

अख्तियारको प्रतिवेदनमा स्थानीय तह, सबैभन्दा धेरै उजुरी पोखरामा

Nepalmuhar October 6, 2025
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत वर्ष भ्रष्टाचार तथा अनियमिततासँग सम्बन्धित सबैभन्दा धेरै उजुरी पर्ने स्थानीय तहमा कास्कीको पोखरा महानगरपालिका परेको छ । सबैभन्दा कम उजुरी पर्ने स्थानीय तहमा भने रौतहट जिल्लाको कटहरिया नगरपालिका छ । आयोगले हालै राष्ट्रपति कार्यालयमा बुझाएको आर्थिक वर्ष २०८१/८२ को...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत वर्ष भ्रष्टाचार तथा अनियमिततासँग सम्बन्धित सबैभन्दा धेरै उजुरी पर्ने स्थानीय तहमा कास्कीको पोखरा महानगरपालिका परेको छ । सबैभन्दा कम उजुरी पर्ने स्थानीय तहमा भने रौतहट जिल्लाको कटहरिया नगरपालिका छ ।

आयोगले हालै राष्ट्रपति कार्यालयमा बुझाएको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार कास्कीमा भ्रष्टाचार तथा अनियमिततासँग सम्बन्धित ४१३ वटा उजुरी परेका छन् । जुन आयोगमा परेको कुल उजुरीको २.०७ प्रतिशत हो ।

प्रतिवेदन अनुसार आव २०८१/८२ मा पोखरा महानगरपालिकासँग सम्बन्धित ३८५ उजुरी थिए । त्यस्तै अघिल्लो आवबाट सरेर आएका उजुरी सङ्ख्या २८ थियो । आयोगमा परेका अधिकांश उजुरी विकास निर्माणसँग सम्बन्धित छन् ।

सबैभन्दा कम उजुरी परेको स्थानीय तहमा समावेश भएको रौतहट जिल्लाको कटहरिया नगरपालिकासँग सम्बन्धित १६९ वटा उजुरी छन् । जसमध्ये आव २०८१/८२ मा १४७ वटा उजुरी परेका थिए भने बाँकी २२ वटा उजुरी अघिल्लो आवबाट सरेर आएका थिए । कटकरिया नगरपालिकासँग सम्बन्धित उजुरी आयोगमा परेको कुल उजुरीको ०.८५ प्रतिशत मात्रै हो ।

आयोगको वार्षिक प्रतिवेदन अनुसार यस अवधिमा स्थानीय तहसँग सम्बन्धित उजुरी १९ हजार ९३३ वटा थियो । तीमध्ये सबैभन्दा बढी अर्थात् सात हजार ७२ वटा (३५.४८ प्रतिशत) उजुरी मधेश प्रदेशका स्थानीय तहसँग सम्बन्धित र सबैभन्दा कम अर्थात् एक हजार ४२० वटा (७.१२ प्रतिशत) उजुरी गण्डकी प्रदेशका स्थानीय तहसँग सम्बन्धित रहेका छन् ।

पोखरापछि बढी उजुरी पर्ने स्थानीय तहमा काठमाडौँ महानगरपालिका रहेको छ । काठमाडौँसँग सम्बन्धित ३८१ वटा उजुरी छन् । उजुरीका आधारमा चौथो नम्बरमा पर्साको छिपरमाई गाउँपालिका परेको छ । यस गाउँपालिकासँग सम्बन्धित २९८ वटा उजुरी परेको छ ।

बाराको सुवर्ण गाउँपालिकासँग सम्बन्धित उजुरी २३० वटा रहेका छन् भने दैलेखको नारायण नगरपालिकासँग सम्बन्धित उजुरी २०६ वटा छन् ।

त्यस्तै बाराकै पचरौता नगरपालिकासँग सम्बन्धित १९२ वटा तथा महोत्तरीको जलेश्वर नगरपालिकासँग सम्बन्धित १९१ वटा उजुरी परेको आयोगले जनाएको छ । ललितपुरको ललितपुर महानगरपालिकासँग सम्बन्धित उजुरी १८८ वटा र धनुषाको जनकपुर उपमहानगरपालिकासँग सम्बन्धित उजुरी १७९ वटा रहेको आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

आयोगमा आव २०८/र८२ मा आयोगको केन्द्रीय कार्यालय र मातहत कार्यालयमा २८ हजार ५५४ वटा उजुरी दर्ता भएको थियो । त्यसबाहेक गत आवबाट आठ हजार ४७२ वटा उजुरी जिम्मेवारी सरी आएको थियो । दुवै गरेर आयोगमा आव २०८१/८२ मा ३७ हजार २६ वटा उजुरीको दर्ता कायम भएको थियो ।

आयोगको प्रतिवेदन अवधिमा छ वटा प्रदेशमा स्थानीय तहका निकाय वा पदाधिकारीसम्बद्ध उजुरी बढी परेका छन् भने बागमती प्रदेशमा सङ्घीय निकाय वा पदाधिकारीसम्बद्ध उजुरीको सङ्ख्या बढी रहेको छ । कर्णाली र सुदूरप‍श्चिम प्रदेशमा प्रदेश सरकारका निकाय वा पदाधिकारीसम्बद्ध बढी उजुरी परेको छ । उजुरीको समग्र सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् ११ हजार २७७ वटा (३०.४६ प्रतिशत) रहेका छन् ।

गण्डकी प्रदेशमा सबैभन्दा कम अर्थात् दुई हजार ४१३ वटा (६.५२ प्रतिशत) रहेका छन् । यस अवधिमा प्राप्त कुल उजुरीमध्ये १९ हजार ९३३ वटा अर्थात् ५३.८४ प्रतिशत उजुरी स्थानीय तहसम्बद्ध, १२ हजार ४७५ वटा अर्थात् ३३.६९ प्रतिशत उजुरी सङ्‍घ सरकारसम्बद्ध र चार हजार ६१८ वटा अर्थात् १२.४७ प्रतिशत उजुरी प्रदेश सरकारसम्बद्ध रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

अख्तियार उजुरी