नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय निजामती सेवा विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको ‘कुलिङ अफ पिरियड’ प्रावधानलाई जालसाजीपूर्ण ढंगले हटाइएको घटनालाई विश्वकै लाजमर्दो राजनीतिक ठगीको संज्ञा दिएका छन्।
सामाजिक सञ्जालमा स्टाटस् लेख्दै भट्टराईले यस्तो कार्यले नेपालमा राज्य संरचना र राजनीतिक नेतृत्व कति हदसम्म साँठगाँठमा आधारित छ भन्ने तथ्य उजागर भएको बताएका छन्।
‘कुलिंग अफ पिरियड भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामा पछि अर्को ठूलो सरकारी भाग खान २ वर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराइएको घटना नेपाल मात्र हैन, विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगीको घटना हुनुपर्छ,’ भट्टराईले लेखेका छन्।
भट्टराईले लेखेअनुसार उच्च तहको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीचको साँठगाँठकै कारण यसरी राज्यदोहन, राष्ट्रघात र जनविरोधी अपराधहरू भइरहेका छन् वा हुने सम्भावना देखिन्छ। ‘यो घटनाले कति ठूला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका वा हुन सक्ने रहेछन् भन्ने जिउँदो र ताजा प्रमाण दिएको छ,’ उनले लेखेका छन् ।
