१७, १८ र १९ असोजमा परेको अविरल वर्षापछि आएको बेमौसमी बाढी पहिरोका कारण भएको क्षतिको विभिन्न कम्पनीहरुले तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको बीमा दाबी गरेका छन् । उक्त बाढी पहिरोले ठूलो मानवीय र भौतिक क्षति भएको थियो । बीमा प्राधिकरणका अनुसार चार सय ३४ वटा बीमा दाबीको आवेदन परेको छ ।
प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बिमा २०९, मोटर बिमा निजीतर्फ ३७, मोटर बिमा सार्वजनिक १०, अन्य बिमा एक र सामुन्द्रिक बिमाका तीनवटा आवेदन परेको छ । कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बिमा दाबीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बिमा दाबीको आवेदन सुनसरीमा परेको छ । इलाममा ६०, काठमाडौं ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बिमा दाबीको आवेदन परेको हो ।
प्राधिकरणका भनाइमा गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बिमा दाबीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बिमा दाबीको आवेदन परेको थियो ।
प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बिमा कम्पनीमा बिमा दाबीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ । १४ वटा निर्जीवन बिमा कम्पनी, चारवटा निर्जीवन लघुबिमा कम्पनीमा बिमा दाबीको आवेदन परेको हो ।