Nepalmuhar Full version →
राजनीति

भूमि आयोग होईन, भू-माफिया आयोगः प्रभु साह

Nepalmuhar August 14, 2025
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न सरकारलाई सुझाव दिएका छन् । सरकारले बिचौलिया, भूमाफियाका लागि भूमि विधेयक ल्याएको बताउदै उनले यस्तो सुझाव दिएका हुन् ।  प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले संविधानमा भएको व...

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न सरकारलाई सुझाव दिएका छन् । सरकारले बिचौलिया, भूमाफियाका लागि भूमि विधेयक ल्याएको बताउदै उनले यस्तो सुझाव दिएका हुन् । 

प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले संविधानमा भएको व्यवस्था अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले अहिलेसम्म किन जग्गा नपाएको भन्दै उनले प्रश्न समेत गरे । 

‘म सरकारसंग प्रश्न गर्न चाहन्छु भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले अहिलेसम्म किन भुमिको अधिकार पाएनन् । संविधानमै भएको अधिकार अहिलेसम्म किन अलपत्र छ । म सम्मानिय प्रधानमन्त्रीजीसंग सोध्न चाहन्छु संविधानमै भएको अधिकार तपाई कार्यान्वयन गर्न नसक्ने,’ आजपा अध्यक्ष साहले भने, ‘अहिले म सुन्ने गरेको छु, कि भूमिहीन सुकुम्बासीलाई भूमि दिन कानून प्रयाप्त भएन, कानूनको अभाव भयो । यसरी रातलाई दिन बनाउने काम भइरहेको छ त्यसलाई बन्द गर्न विशेष आग्रह गर्न चाहन्छु । हामी जानकार छौं, कानून मन्त्रालय, भूमि मन्त्रालय चलाएको मान्छे म सोध्न चाहन्छु प्रधानमन्त्रीजीसंग कुन दफाले रोकेको छ, बताउनुस् ।’ 

२०४८ सालदेखी तपाईहरुले सुकुम्बासीको नाममा हुकुम्बासीलाई जग्गा बाडदै आएको बताउँदै उनले अहिले कुन कानून र दफाले सुकुम्बासीलाई जग्गा दिन रोक्यो भन्ने बाध्यता बारेमा जवाफ माग गरे । ‘प्रधानमन्त्रीको मुखमा रामराम बगलीमा छुरा’ भएको बताउँदै उनले सुकुम्बासीको नाममा बिचौलिया र भूमाफियालाई फाइदा पुग्ने काम गरिरहेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिदै कटाक्ष गर्दै भने, ‘म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, तपाईहरु गरिब सुकुम्बासीको नाम बन्द गर्दिनुस । तपाईहरुको नियत गरिब सुकुम्बासीलाई दिने भन्ने छैन् । तपाईहरुले सिधा हो भूमाफियालाई दिएर आफ्नो भूडी भर्ने । त्यसो हो भने यो जुन भूमि आयोग बनाउनुभएछ, त्यसको नाम मूमाफिया आयोग बनाउनुस् । अहिले जुन विधेयक ल्याउनुभएको छ भूमि विधेयकको नाम छोडेर त्यसलाई भूमाफिया विधेयक भन्नुस । हैन भने स्पष्ट भन्नुस कुन दफाले सुकुम्बासीलाई दिनलाई रोकेको छ ?’

सरकारी डाटाअनुसारी नै ८९ हजार भूमिहीनले मात्रै जग्गा लिन बाँकी रहेको बताउदै उनले सरकारले नौं लाखको निवेदन लिएर के गर्न खोजेको भन्दै प्रश्न उठाएका छन् । ति नौं लाखलाई कुन जग्गा दिन खोजेको हो ? जंगलको जग्गा, राष्ट्रिय निकुञ्जको जग्गा दिने समितिमा जुन छलफल चलाइएको छ त्यो नेपाली जनतालाई स्वीकार्य नहुने उनले बताए । 

बजार, सडक वरिरिका जग्गा भूमाफियालाई दिने जुन प्रपञ्च भइरहेको छ त्यो शाहीकालमा पनि यस्तो नभएको उनले बताए । राजामहाराजाले भूमिहीन गरिबलाई जग्गा दिएको तर अहिले सरकारले गरिब भूमिहीनको नाममा बिचौलिया र माफियालाई जग्गा दिएर कमाउने धन्दामा लागेको साहले बताए । नेपालको भूमि बेचेर बिदेश लैजाने षडयन्त्र भइरहेको, हदबन्दीको जग्गालाई फुकुवा गर्ने षडयन्त्रमा सरकार लागेको र सोही अनुसार भूमि विधेयक ल्याएको भन्दै उनले सरकारको आलोचना गरे । 

उनले हदबन्दी छुटमा जग्गा लिएकाहरूले अहिले प्रयोजन परिवर्तन गरेर जग्गाको प्लटिङ र हाउजिङ व्यवसायको लागि मन्त्रालयसमक्ष निवेदन दिएको भन्दै गलत काम नगर्न भूमिमन्त्रीलाई सचेत गराए । 

‘नेपालमा हदबन्दी छुटमा जग्गा लिएकाहरुको संख्या कति छ ? कुन कम्पनीले कुन प्रयोजनको लागि कति जग्गा लिएको छ ? हामी जान्न चाहन्छौं–अहिले ती जग्गाको स्थिति के छ ? यो विषय स्पष्ट गरियोस । भूमिसुधार मन्त्रालयको जानकारीअनुसार कृषि शिक्षा र स्वास्थ्य प्रयोजनको लागि हदबन्दी छुट लिइएका जग्गाहरु अहिले घरजग्गा कारोबारको लागि रुपान्तरण गरियोस भनेर निवेदन आएको छ भन्ने सुन्नमा आएको छ, झण्डै एक सय वटा कम्पनीले आफूले जुन प्रयोजनको लागि लिइएको, त्यो नभएर अब घरजग्गा कारोबार, हाउजिङ र प्लटिङको लागि निवेदन दिएका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘हामी जान्न चाहनछौं–ती कम्पनीहरु कुन कुन छन् ? ती निवेदनमाथि के छानबिन भयो ? के कारबाही भयो ? अथवा के सम्बोधन भएको हो ? हो भने किन गोप्य राखियो । भूमिसुबधारमन्त्रीलाई सोध्न चाहन्छु–यसलाई किन गोप्य राख्नुहुन्छ ?’

Featured प्रभु साह भूमि आयोग