नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने बताएका छन् । आज सात भदौमा काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा थापाले पूर्वराष्ट्रपति भण्डारी सक्रिय हुने विषयमा कसैको अनुमति लिनु नपर्ने पनि बताए ।
आफैँले निर्माण गरेको पार्टी भएकाले एमालेमा भण्डारीलाई कसैले ‘इन्ट्री’ दिनु नपर्ने थापाको भनाइ छ । भण्डारीको सदस्यताका बारेमा क–कसले के–के भने भन्नेबारे आफूले कुनै टिप्पणी नगर्ने उनले बताए ।
भण्डारीको सदस्यताका बारेमा पार्टीले गरेको निर्णय उल्टने थापाको विस्वास छ । जनताको अधिकार, समानता, स्वतन्त्रता र न्यायका निम्ति स्थापित एमालेभित्र राजनीति गर्न पाईँदैन भन्नु अशोभनीय हुने थापाको भनाइ छ । थापाले कसैलाई अपमान, तिरस्कार, तेजोबोध गर्ने र लाञ्छना लगाउने कार्य एमालेपंक्तिले गर्न नहुने सुझाएका छन् ।