Nepalmuhar Full version →
राजनीति

राप्रपा अध्यक्ष लिङ्देनलाई कांग्रेसको जवाफ: आफ्नो अभीष्ट पूरा गर्न अर्काको प्रतिष्ठामा आँच नपुर्याउ

Nepalmuhar April 28, 2025
‘२०८२ वैशाख १२ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले सम्मानित संसद्‌मा आफ्नो मन्तव्यको क्रममा गत चैत्र १५ गते राप्रपासहित राजावादीहरूद्वारा आयोजित विरोध कार्यक्रमको समयमा काठमाडौँको कोटेश्वरस्थित भाटभटेनीमा भएको तोडफोड र लुटपाटमा नेपाली कांग्रेसका एकजना सहमहामन्त्रीका...

‘२०८२ वैशाख १२ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले सम्मानित संसद्‌मा आफ्नो मन्तव्यको क्रममा गत चैत्र १५ गते राप्रपासहित राजावादीहरूद्वारा आयोजित विरोध कार्यक्रमको समयमा काठमाडौँको कोटेश्वरस्थित भाटभटेनीमा भएको तोडफोड र लुटपाटमा नेपाली कांग्रेसका एकजना सहमहामन्त्रीका छोरासमेत संलग्न भई प्रहरीद्वारा समातिएको र गृहमन्त्रीको आदेशले उनको रिहाइ गरिएको भनी दिनुभएको भ्रमपूर्ण अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्ष लिङ्देनले लक्षित गर्नुभएको व्यक्ति एक जिम्मेवार नेपाली हुन् र उनी सो दिन नेपालमा समेत नरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूले गरेका अवाञ्छित क्रियाकलाप र लुटपाटको ढाकछोप गर्ने उद्देश्यले सो अवाञ्छित कार्यको दोष एक जना जिम्मेवार र सभ्य नागरिकमाथि लगाउनु अत्यन्तै निन्दनीय कार्य भएकोले उक्त अभिव्यक्तिको नेपाली कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ।’

नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आज जारी गरेको विज्ञप्तिमा उल्लेख अशं हुन् यी । सत्तारुढ कांग्रेसले ९२०८१० चैत १५ गते तीनकुनेमा गरिएको हिंसात्मक प्रदर्शनमा आफ्नो पार्टीका एकजना सहमहामन्त्रीका छोरालाई प्रहरीले पक्राउ गरेकोमा गृहमन्त्रीको आदेशले छाडिएको भनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको अभिव्यक्ति भ्रमपूर्ण र कपोलकल्पित दाबी गरेको छ ।

त्यस दिन समातिएका भनिएका व्यक्ति नेपालमै नरहेको दाबी गर्दै आफ्ना अवाञ्छित क्रियाकलाप र लुटपाट ढाकछोप गर्न राप्रपा अध्यक्ष लिङ्देनले दिएको अभिव्यक्तिको घोर भर्त्सना र निन्दा गरेका छन्।

विज्ञप्तिमा थप उल्लेख छ, ‘..एउटा राजनीतिक पार्टीका अध्यक्षको तर्फबाट सम्मानित संसद्‌मा आधारहीन कुराहरू प्रस्तुत गर्नुभन्दा पनि आफ्ना नेता, कार्यकर्ता तथा समर्थकलाई अनुशासित र जिम्मेवार बनाउनतर्फ विशेष ध्यान दिनसमेत हामी आग्रह गर्दछौँ र अध्यक्ष लिङ्देनले राजनीतिक अभीष्ट पूरा गर्न अर्काको प्रतिष्ठा तथा सामाजिक मर्यादाप्रति संवेदनशील भई आफ्नो पद र सम्मानित संसद्‌समेतको गरिमालाई ध्यानमा राख्न आग्रह गर्दै यस्ता कपोलकल्पित र भ्रामक कुराहरूबाट सचेत रहन समेत सबैलाई आग्रह गर्दछौँ।’

Featured कांग्रेस राजेन्द्र लिङ्देन