Nepalmuhar Full version →
समसामयिक

एनपिएलः सुदूरपश्चिमको लगातार तेस्रो जित

Nepalmuhar November 24, 2025
कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै बलरहरु चम्किएपछि साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार साँझ भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको रोमाञ्चक जित हात पार्‍यो । जितसँगै सुदू...

कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै बलरहरु चम्किएपछि साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार साँझ भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको रोमाञ्चक जित हात पार्‍यो ।

जितसँगै सुदूरपश्चिमले तीन खेलबाट ६ अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको सुदूरपश्चिम जारी लिगमा अपराजित रहने दोस्रो टोली हो । लगातार तीन खेल जित्दै समान ६ अङ्क बनाएको विराटनगर किङ्सले दोस्रो स्थानमा छ । तीन खेलमा दोस्रो हार खेपेको कर्णालीको दुई अङ्क छ ।

जितका लागि एक सय ४० रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन जोडे । यस्तै मार्क वार्टले १७, कप्तान सोमपाल कामीले १४, गुल्शन झा र अर्जुन घर्तीले समान १३र१३ रन बनाए ।

कर्णालीलाई स्तब्ध बनाउन बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले एक्लैले चार विकेट लिए । उनले पूरै चार ओभर बलिङ गर्दै २३ रन खर्चिएका थिए । दीपेन्द्र सिंह प्लेयर अफ दि म्याच बने । यस्तै हर्मित सिंह र अविनाश बोहराले दुई दुई तथा हेमन्त धामी र स्कट कुगेलेइजनले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरिले २८ बलमा एक चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाए । यस्तै आरिफ शेखले २५ बलमा तीन चौकासहित २७, हर्मित सिंहले १९ र क्रिस लिनले १८, ओपनर विनोद भण्डारीले ११ र स्कट कुगुलेइजनले १० रन बनाए । बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले सर्वाधिक तीन विकेट लिनुभयो । यस्तै नन्दन यादवले दुई तथा मार्क वार्ट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट लिए ।

Featured सुदूरपश्चिम एनपिएल