नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । शर्माले शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गरेका हुन् । हिजै मात्र प्रचण्डले ‘आफूले काँध छाडे देश नै ढल्छ भन्ने पीर छ’ भन्दै आफूलाई केन्द्रमा राखेर अभिव्यक्ति दिएका थिए ।
प्रचण्डको यस्तो अभिव्यक्ति आएकै भोलिपल्ट आज शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको टिप्पणी गरेका हुन् । शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको सुनाउम्ँदै शर्माले शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न सुझाव दिए । आज विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्दै अर्को पुष्टि गरिसकेको शर्माको टिप्पणी थियो ।
उनले भनेका छन्, ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन। शेषनागले पृथ्वी बोकेको पनि हुँदैन। त्यो त दन्ते कथा हो। शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्तेकथा हो। आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो। त्यसकारणले यो पृथ्वी चल्छ, केही ढल्दैन।’