प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ ।
आज दिउँसो २ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले एक निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता लिएको छ । त्यस्तै नेकपा (एमाले) आठ स्थानमा विजयी भएको छ भने एक स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भएका छन् । श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।
समानुपातिकतर्फ
प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ८६ लाख ५३ हजार ४१६ मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले ४१ लाख ८० हजार ३२२, कांग्रेसले १३ लाख ९७ हजार ८७४, एमालेले ११ लाख ८० हजार ७९४ र नेकपाले छ लाख १४ हजार ३६०, श्रम संस्कृति पार्टीले तीन लाख चार हजार ५७१ र राप्रपाले दुई लाख ८३ हजार २२१ मत प्राप्त गरेको छ ।
एक लाख २२ हजार ९०२ कुल मतदाता रहेको उक्त क्षेत्रमा ६९ हजार २८९ मत खसेको थियो । ६७ हजार ३०७ मत सदर हुँदा एक हजार ९८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं १ सुर्खेतले जनाएको छ ।
त्यसैगरी, एक निर्वाचन क्षेत्र भएको जुम्लामा समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टीले १० हजार २०२ मत ल्याएर पहिलो भएको हो ।
त्यसैगरी, नेपाली कांग्रेसले नौ हजार ३६०, नेकपा एमालेले छ हजार २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ५५२, राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच हजार ११८ र नेपाल मजदुर किसान पार्टीले एक हजार ४२१ मत प्राप्त गरी क्रमशः दोस्रो, तेस्रो, चौथो, पाचौँ र छैटौँ भएका हुन् । ७३ हजार ७३९ कुल मतदाता सङ्ख्या भएको जुम्लामा ४१ हजार ४५१ मत खसेको थियो । ४० हजार ११९ मत सदर हुँदा एक हजार ३३२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, एक निर्वाचन क्षेत्र भएको सल्यानमा समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीका अनुसार समानुपातिकतर्फ रास्वपाले २५ हजार ६६५ मत प्राप्त गरी पहिलो भएको हो । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले २० हजार ३३९ मत प्राप्त गरी दोस्रो स्थान सुरक्षित गरेको छ ।
समानुपातिकतर्फ नेपाली कांग्रेसले १६ हजार ६९, नेकपा एमालेले १४ हजार ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४३० मत प्राप्त गरी क्रमशः तेस्रो, चौथो र पाँचौँ बनेको मुख्य निर्वाचन अधिकृत योगीले जानकारी दिए । एक लाख ६२ हजार ५४५ कुल मतदाता रहेको उक्त क्षेत्रमा ८३ हजार ८२५ मत खसेको थियो । ८० हजार ७९० मत सदर हुँदा तीन हजार ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।