हामी नेपाली संस्थाका संयोजक सुधन गुरुङले ‘जेनजी’ले राखेका माग पूरा नभई निर्वाचन हुन नसक्ने बताएका छन् । आज बिहीबार (कात्तिक २७) बिहान काठमाडौंको लैनचौरस्थित खड्का ल्यान्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा निर्मित संरचना हटाउन पुगेका गुरुङले निर्वाचन हुन नस्कने बताएका हुन् ।
केहीबाहेक अधिकांश जेनजी एक ठाउँमा रहेका उनको भनाइ छ । गुरुङले जेनजीका माग पूरा गरिनुपर्नेमा जोड दिएका छन् । जेनजीका माग पूरा नभए अर्को आन्दोलन हुने उनले चेतावनी दिएका छन्। यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने उनले बताए ।
“समग्र हामी जेनजीहरूको टिम एक ठाउँमा छ । एकदुईजना तलमाथि हुनुहुन्छ, उहाँहरूलाई नै बोलाउँछौँ,” उनको भनाइ छ,, “माग पूरा नभईकन कसरी चुनाव हुन्छ रु यो सबै कुरा गृहमन्त्रीज्यूले जिम्मा लिनुपर्छ ।” जेनजीका हरेक वार्तामा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास उनले दिलाएका भए पनि त्यसानुसार काम नभएको गुरुङको भनाइ थियो ।
“उहाँ (ओमप्रकाश अर्याल) हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । राष्ट्रपति कार्यालयमा संविधानविद् भनेर मलाई चिनाइएको हो । माग पूरा हुन्छ, हुँदैन उहाँहरूलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे,” उनले भने, “यो सबै भएन भने धोका दिनुभएको हो हामीलाई । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।”
आफूहरूका माग पूरा नभए गृहमन्त्रीले धोका दिएको ठहर हुने उनले बताए । गृहमन्त्रीले जेनजीका माग पूरा गर्न छाडेर निर्वाचनको रटान लगाएको गुरुङको आरोप छ ।