नेकपा (एमाले) का युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमै आफ्नो दाबी पेस गरेका छन् । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले पार्टीको अहिलेको जनभावना र आवश्यकता अनुरुप भन्दै दलको नेतामा इच्छा व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
सुहाङले बैठकमा भनेका छन्- ‘पार्टीको विधि पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै म जिम्मेवारी निभाउन तयार छु । देशमा उत्पन्न वर्तमान परिस्थिति हामीले नजरअन्दाज गर्न पक्कै हुँदैन । सदन र सदन बाहिरको अवस्था हामी बुझ्न सक्छौँ । ‘ उनले आफ्नो भनाइ अग्रजहरू असक्षम भन्न खोजेको भने नभएको पनि प्रष्ट पारेका छन् ।
‘उनले आफू नै अहिलेको आवश्यकता, युवाको ऊर्जा सँगसँगै अग्रजको अनुभव र आशीर्वाद हो भनेका छन्, छलफल हुँदैछ’, सुहाङको भनाइ उद्धृत गर्दै एक जना सांसदले बताए । पार्टीले नै अवलम्बन गरेको प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र लोकतान्त्रिक अभ्यासलाई पनि अपनाउने कुरा उनले नेतृत्वलाई स्मरण गराएका छन् ।
बादलको अध्यक्षतामा जारी बैठकमा पार्टी पदाधिकारीहरू विष्णु पौडेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेललगायतका नेता सहभागी छन् ।