Nepalmuhar Full version →
राजनीति

संसद् बहिष्कार गर्दै राजेन्द्र लिङदेनले भने– राप्रपा सांसदको बैठक भत्ता राजश्वमा फिर्ता होस्

Nepalmuhar June 16, 2025
आफूहरुको दलसहित रास्वपाले विरोध गर्दागर्दै पनि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक जारी राखेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको आजको बैठक पनि बहिष्कार गरेको छ । आजको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर राप्रपा अध्यक्ष लिङदेनले संसद् अवरोध नखुल्दासम्म...

आफूहरुको दलसहित रास्वपाले विरोध गर्दागर्दै पनि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक जारी राखेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको आजको बैठक पनि बहिष्कार गरेको छ ।

आजको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर राप्रपा अध्यक्ष लिङदेनले संसद् अवरोध नखुल्दासम्म बैठक बहिष्कार गर्ने बताएका हुन् ।

‘संसद्मा जे भइरहेको छ, त्यो स्वभाविक छैन । सभामुख संसद्को अभिभावक हो, संसद्मा दुइटा महत्वपूर्ण राजनीतिक दलले आफ्नो फरक मत राखेका छन् । विरोध जारी राखेको बेला संसद् अगाडि बढाउनु संसदीय मर्यादाका लागि राम्रो हुँदैन,’ लिङदेनले भने, ‘संसद् अवरुद्ध भइरहेको बेला जबरजस्त अगाडि बढाउने कर्मकाण्ड बहिष्कार गर्छौ । बैठक बहिष्कार गरेको दिन राप्रपा सांसदको नाममा आउने बैठक भत्ता राजश्वमा फिर्ता गरिदिनु हुन अनुरोध छ ।’

रास्वपाको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले संसद्को बैठक अगाडि बढाएपछि राप्रपाले बैठक बहिष्कार गरेको हो । लिङदेनले सभामुखले संसद्मा तटस्थ र निष्पक्ष भूमिका खेल्नुपर्ने बताए । ‘संसद्मा एकसय सिट भएको र एउटा सिट भएको पार्टीको मर्यादा उत्तिकै हुनुपर्छ । विरोध जारी राखेको बेला संसद् अगाडि बढाउनु अमर्यादित विषय हो । जबरजस्त अगाडि बढाउन मिल्दैन,’ लिङदेनले भने ।

राप्रपाले हिजो आइतबारको संसद बैठक पनि बहिष्कार गरेको थियो ।

Featured राप्रपा संसद् बहिष्कार