नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले एकतावद्ध भएर अघि बढ्ने घोषणा गरेका छन्। आज शुक्रबार अपरानह् संयुक्त विज्ञप्ति प्रकाशित गरी तीन नेताले यस्तो संकल्प गरेका हुन्।
आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको उनीहरूको ठहर छ।
‘राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सबै प्रतिवद्ध कम्युनिष्टहरू, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत् मोर्चावन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको छ’ तीन नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि वढ्न सङ्कल्पबद्ध भएका छौँ। र, सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौँ।’
उनीहरूले सत्तासिन नेताहरू गैरजिम्मेवार बन्दै र राजनीतिक दलहरूले खेल्नु पर्ने भूमिका कमजोर हुँदै जाँदा राज्य, राजनीति, राजनीतिक दल र तिनका नेताहरू जनताबाट टाढिँदै गएको बताएका छन्। दलहरूमा भएका सुधारको प्रयास असफल हुँदा भदौ २३ को जेनजी आन्दोलन र २४ को विध्वंसलाई रोक्न नसकेको तीन नेताको ठहर छ।
