काठमाडौंको माइतीघरमा आव मध्यान्ह प्रदर्शन गर्ने क्रममा गिरफ्तार गरिएका ‘जेनजी’लाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याइएका उनीहरूलाई केही बेरमै छाडिएको हो ।
परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले गिरफ्तारको केही बेरमै रिहा गरिएको जानकारी दिए । “बाटोमा उहाँहरूले केही बेर अवरोध गर्नुभएको थियो । सोही क्रममा केही साथीहरूलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिएको केही बेरमै छोडिसक्यौँ,” एसपी भट्टराईले सञ्चारकर्मीहरुसँग भने ।
मिराज ढगाना नेतृत्वको जेनजीहरुले हिजो मात्र ुसर्वपक्षीय सरकार गठनको माग राख्दै आन्दोलनको घोषणा गरेका थिए । तर उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले प्रदर्शनको अनुमति दिएको थिएन । अनुमतिविपरीत प्रदर्शनमा उत्रिएकाले हटाउन खोजिएको प्रहरीको भनाइ छ ।
केही जेनजीलाई गिरफ्तार गरिएपछि रिहाइका निम्ति भन्दै आन्दोलनका संयोजक मिराज ढुंगानासहितको टोली परिसर प्रवेश गर्न खोज्दा प्रहरीले ब्यारिकेट लगाएर रोकेको थियो । पक्राउ गरिएकाहरुलाई नछाडे ब्यारिकेट तोड्ने चेतावनी दिएपछि उनीहरुलाई छाडिएको थियो ।