Nepal Muhar Full version →
राजनीति

कुलिङ पिरियडमाथि छानबिनका लागि सभामुखले मागे सदस्यहरुको नाम

nepalmuhar July 3, 2025
निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको जालझेलबारे छानबिन समिति गठन गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलसँग नाम मागेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज अपराह्न सभामुख घिमिरेले नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा (माओ...

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको जालझेलबारे छानबिन समिति गठन गर्न सभामुख देवराज घिमिरेले प्रमुख दलसँग नाम मागेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज अपराह्न सभामुख घिमिरेले नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग नाम मागेका हुन् । छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी थिइन् ।

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरेका छन् । उनले समितिले गर्नुपर्ने काम र सोको समयावधि तथा समितिमा रहने सदस्यको नामावलीबारे दलहरूको प्रस्ताव मागेका हुन् ।

प्रमुख दलहरूले संसदीय छानबिन समिति गठन गर्नै पर्ने सुझाव दिएका छन् । उनीहरूले विधेयकको व्यवस्था तोडमोड गरिएको विषय व्यवस्थापिकाको कार्यक्षेत्र भएकाले सरकारको धारणा माग गर्न आवश्यक नभएको बताए । तीनवटै प्रमुख दलका नेताहरूले आ–आफ्ना दलसँग छलफल गरेर सभामुखलाई जानकारी गराउने बताएका छन् ।

आगामी असार २३ गते बस्ने प्रतिनिधिसभाको बैठक अगावै दलहरूबीच समझदारी गरेर कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामा समितिको प्रस्ताव गर्ने दलहरूबीच सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधबार बसेको समितिको बैठकका निर्णयबारे मौखिक जानकारी गराए पनि औपचारिक जानकारी नआएको संघीय संसद् सचिवालयलको भानाइ छ ।

Featured छानबिन कुलिङ पिरियड