Nepalmuhar Full version →
अन्तर्राष्ट्रिय

अमेरिकी कंग्रेसबाट बालबाल पारित भयो ट्रम्पको कर र खर्च कटौती विधेयक

Nepalmuhar July 4, 2025
अमेरिकी कंग्रेसको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको कर र खर्च कटौती विधेयक झिनो मतले पारित गरेको छ । अमेरिकाको क्यापिटल हिलमा लामो र कठिन संसद् सत्रपछि तल्लो सदनले स्थानीय समयअनुसार बिहीबार दिउँसो २१८–२१४ अर्थात जम्मा चार मत अन्तरले मात्र विधेयक पारित गरेको हो । यसअघि माथिल्लो सदन स...

अमेरिकी कंग्रेसको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको कर र खर्च कटौती विधेयक झिनो मतले पारित गरेको छ । अमेरिकाको क्यापिटल हिलमा लामो र कठिन संसद् सत्रपछि तल्लो सदनले स्थानीय समयअनुसार बिहीबार दिउँसो २१८–२१४ अर्थात जम्मा चार मत अन्तरले मात्र विधेयक पारित गरेको हो ।

यसअघि माथिल्लो सदन सिनेटले मंगलबार एक मतको अन्तरले मात्र यो विधेयक अनुमोदन गरेको थियो । ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई ४ जुलाईसम्म अन्तिम संशोधित विधेयकमा हस्ताक्षरका लागि पठाउन समयसीमा दिएका थिए ।

यो विधेयकले आगामी १० वर्षमा संघीय घाटामा ३।३ ट्रिलियन डलर थप्न सक्ने र लाखौँ मानिसहरूलाई स्वास्थ्य बीमाबाट वञ्चित गर्ने संसदीय बजेट कार्यालयले प्रक्षेपण गरेको छ । तर, यसलाई ह्वाइट हाउसले अस्वीकार गरेको छ ।

हिजो साँझ पत्रकारहरूसँग ट्रम्पले यो विधेयकले देशलाई ‘रकेट जहाज’मा परिणत गर्ने बताए । “यो देशका लागि उत्कृष्ट विधेयक हुनेछ,” उनले भने ।

रिपब्लिकन सभामुख माइक जोन्सनले मतदानपछि संसद्‌बाट बाहिरिनेक्रममा पत्रकारहरूसँग विश्वास नै आफ्नो पार्टीभित्र समर्थन प्राप्त गर्नुको कडी भएको बताए ।

उनले मनाउनुपर्ने व्यक्तिहरूमध्ये एक टेक्सासका रिपब्लिकन सांसद चिप रोय थिए । रोयले सिनेटले विधेयक पारित गर्दा केही दिनअघि यो विधेयकलाई नराम्रो भन्दै अस्वीकार गरेका थिए ।

उनले सिनेटले पारित गरेको विधेयकको संस्करणलाई विपत्ति भनेका थिए । तर, मतदान सुरु भएपछि उनले आफ्नो मन परिवर्तन गरे र समर्थनको पक्षमा मत हाले ।
बीबीसी

विधेयक अमेरिकी कंग्रेस