त्रिभुवन विश्वविद्यालयको ६३ औं वार्षिक साधारणसभा भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभा सम्पन्न भएको हो । त्रिविको वार्षिक साधारणसभाले विभिन्न संकाय र तहमा उत्तीर्ण ८९ हजार १९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेसलिष्ट पारित गरेको हो ।

बैठकमा आर्थिक वर्ष २०८२/३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्वविद्यालयलाई २१ औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्न आग्रह गरेका छन् ।

शिक्षा, सहकुलपति एवं विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यसअनुसार काम गर्नुपर्ने बताए ।

नवनियुक्त उपकुलपति प्रा. दीपक अर्याल (विद्यावारिधि) ले विश्वविद्यालयमा कूल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिव चार हजार) विदेशी विद्यार्थी हुनेगरी लाग्ने बताएका छन् ।