काठमाडौं स्कुल अफ ल ले ‘देश विकासको प्रारम्भिक खाका‘ माथि विभिन्न कलेजहरुबीच गराएको प्रतिस्पर्धामा कृतिका आचार्य प्रथम भएकी छन् । छनोटचरणको विभिन्न प्रतिस्पर्धामा सामेल हुँदै अन्तिमचरणमा पुगेका चार प्रतिस्पर्धीहरु बागीश्वरी क्याम्पस भक्तपुरमा स्नातक चौथो वर्षमा अध्यनरत तेन्जिङ डोल्मा तामाङ, त्यही कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत विनिता तामाङ र लक्मी तामाङलाई उछिन्दै झापास्थित विर्तामोडको निधि विद्यालयमा कक्षा १२ मा अध्ययरत आचार्यले ५० हजार नगद र ट्रफी जितेकी हुन् । काठमाडौं स्कुल अफ ल ले उक्त कार्यक्रम हिजो ५ असारमा कलेजकै नयाँ ‘जी’ हलमा गरेको थियो

प्रतिस्पर्धामा तेन्जिङ डोल्मा तामाङ दोस्रो हुन सफल भएकी छन् । उनले ३० हजार नगद र प्रमाणपत्र प्राप्त गरिन । तेस्रो स्थान ओगटेकी विनिता तामाङले २० हजार रुपैयाँ पाइन । सान्त्वना पुरस्कार पाउन सफल लक्मी तामाङलाई १० हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा मधेश प्रदेश विश्वविद्यालयसहितका तीन सय बढी विद्यार्थी सहभागी थिए ।

कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधान न्यायाधीश गोपाल पराजुली, विशेष अतिथि काठमाडौं स्कुल अफ ल का कार्यकारी अध्यक्ष एवम् नेपाल सरकारका पूर्वगृह सचिव गोविन्द कुसुम (विद्यावारिधि), काठमाडौं स्कुल अफ ल का कार्यकारी निर्देशक प्राध्यापक युवराज संग्रौला (विद्यावारिधि), मधेश प्रदेश विश्वविद्यालयका उपकुलपति दीपक अमात्य (विद्यावारिधि) काठमाडौं स्कुल अफ ल का एकेडेमिक इन्चार्ज प्रा. हङकङ राना, केएसएलका क्याम्पस प्रमुख प्रा. कुमार इङ्गनाम (विद्यावारिधि), मनोपरामर्शदाता डा. चाँदनी घिमिरे, काठमाडौंको कालोपुलमा झण्डै दुई सय असहाय बालबालिकाहरुलाई हुर्काइरहेकी सुनगाभा बाटिका नेपालकी संस्थापक एवम् अध्यक्ष वीना बस्नेत थिए ।

त्यस्तै नेपाल सरकारका पूर्वनायव महान्याधिवक्ता एवम् विशेष अदालतका पूर्वअध्यक्ष प्रेमराज कार्की, गृह मन्त्रालयका उपसचिव शिवराज सेढाई, अधिवक्ता एवम् पृथ्वीनारायण क्याम्पस पोखराका पूर्वउपप्राध्यापक अमृत खरेल, सुनगाभा बाटिका नेपालकी निर्देशक एव मनोपरामर्शदाता सुनिता चौहानलगायत उपस्थित थिए ।

बहसमा सहभागीहरुलाई पूर्वप्रधान न्यायाधीश पराजुली, काठमाडौं स्कुल अफ ल का कार्यकारी अध्यक्ष कुसुम, कार्यकारी निर्देशक प्रा. संग्रौला, मनोपरामर्शदाता डा. घिमिरे, सुनभागा बाटिकाकी संस्थापक वीना बस्नेत र अधिवक्ता खरेलले विद्धत प्रवचन एवम् सुझाव दिएका थिए । उनीहरुले मुलुकको अवस्थाबारे रामायण, नीति कथालगायतका प्रसंगहरु केलाउँदै गहन विवेचना गरेका थिए ।

दोस्रो सत्रको कार्यक्रममा काठमाडौं स्कुल अफ ल का सचिवालय क्षितिज पराजुली, द युनिर्भसिटी अफ एबरडिनकी सहायक प्राध्यापक झेङ वेन (विद्यावारिधि), गृह मन्त्रालयका उपसचिव शिवराज सेढाईले विकासको प्रारम्भिक खाकामाथि कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रहरु खोजमुलक थिए ।

पराजुली, वेन र सेढाईको कार्यपत्र प्रस्तुतपछिको सत्रमा विद्यार्थीहरुले आ–आफ्नो अध्ययनपत्र प्रस्तुत गरे । जसको निर्णायक मण्डलमा सुनगाभा बाटिका नेपालकी निर्देशक सुनिता चौहान, नेपालमुहार डटकमका सम्पादक माधव बस्नेत, साहित्यकार एवम् काठमाडौं स्कुल अफ लकी सहायक प्राध्यापक सरोजा सिग्देल र काठमाडौं स्कुल अफ ल का सहायक प्राध्यापक सार्थक शर्मा थिए । उनीहरुले एक्लाएक्लै दिएको अंकभार जोड्दा कृतिका आचार्य प्रथम भएकी थिइन ।

अनुसन्धान पत्रको अंकभार ४५ थियो, जसमा पत्रको गुणस्तर अंकभार १५, सन्र्दभ सूची एवम् पाद टिप्पणी अंकभार १०, विषय वस्तुको मौलिकता अंकभार १५ र विषय वस्तुको तालमेलको अंकभार पाँच थियो । त्यस्तै वक्तृत्वकला प्रतियोगिताको प्रस्तुति अकंभार ५५ थियो, यसमा सन्दर्भ तथा स्पष्टता २०, अनुसन्धानमुलक खोजको प्रस्तुतीकरण गर्ने क्षमता २०, प्रस्तुतीकरण शैली पाँच, भाषाशैली पाँच, हाउभाउ र समय व्यस्थापनमा पाँच अंकभार दिइएको थियो ।

आचार्यले देश विकासको खाकामा भ्रष्टाचारले पारेको प्रभावमाथि आफ्नो शोधपत्र प्रस्तुत गरेकी थिइन । उनको प्रस्तुति शैली खरो र निडर थियो । तेन्जिङ डोल्मा तामाङले स्वस्थ समाज निर्माणका लागि जलवायु परिवर्तनका असर न्युनिकरणका उपाय विनिता तामाङले नेपाली समाज र मानसिक स्वास्थ्यबीचको सम्बन्ध, लक्मी तामाङले स्वस्थ समाज निर्माण गर्न राजनीति र अर्थतन्त्रको भूमिका शीर्षकका अनुसन्धान पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रथम, द्धितिय, तृतिय र सान्त्वना पुरस्कार पाउने छात्राहरुलाई काठमाडौं स्कुल अफ ल का कार्यकारी निर्देशक प्रा. युवराज संग्रौला र सुनगाभा बाटिका नेपालकी अध्यक्ष वीना बस्नेतले नगद, प्रमाण पत्र एवम् मायाको चिनो वितरण गरेका थिए ।

कार्यक्रमको सञ्चालन काठमाडौं स्कुल अफ ल मा बिएएलएसबी अध्ययनरत छात्राद्धय अष्लेशा लुइटेल र सिल्भिया सेढाइले गरेका थिए ।

✏️ टिप्पणी लेख्नुहोस्