फागुन २१ गते हुन प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र बाबुराम भट्टराई चुनावी मैदानमा उत्रिएका हुन् । एमाले अध्यक्ष ओली झापा पाँच, प्रचण्ड रुकुम पूर्व, नेपाल रौतहट एक र भट्टराई गोरखा दुईबाट चुनावी मैदानको प्रतिस्पर्धामा छन् ।
दुई पूर्व प्रधानमन्त्रीहरूले मनोनयन दर्ता गराएनन् । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले ३५ वर्षीय संसदीय राजनीतिमा विश्राम लिएका छन् । विशेष महाधिवेशनलाई अवैध भन्दै सर्वोच्च अदालतमा कानुनी प्रतिवादमा उत्रिएका देउवालाई कांग्रेसले चुनावी प्रतिस्पर्धामा नउतार्ने निर्णय लिएका थियो ।
नेपाल कम्युनिस्ट पार्टीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि संसदीय प्रतिस्पर्धामा उत्रिएनन् । खनाल एमाले र एकीकृत समाजवादीमा रहँदा इलाम १ बाट चुनाव लड्दै आएका थिए । इलाममा नेकपाले पूर्वमेयरलाई उम्मेदवार बनाएको छ ।
पूर्वप्रधानमन्त्रीहरुका प्रारम्भिक प्रतिवद्धता
पूर्वप्रधानमन्त्रीहरूले अस्थिरतामा फसेको राजनीतिलाई ट्र्याकमा फर्काउन आफुहरूले उमेदवारी दिएको बताएका छन् । एमाले अध्यक्ष ओलीले संविधान र मुलुकको रक्षाका लागि निर्वाचनको मैदानमा उत्रिएको बताएका छन् ।
‘संविधान र मुलुकको रक्षामा उभिने र देश जलाउने को थियो भन्ने कुरा मतदातालाई थाहा छ । मेरो उमेदवारी मुलुकलाई समृद्धिकोबाटोमा डोर्याउन दृढतापूर्वक लाग्नका निम्ति हो,’ ओलीले भनेका छन् ।
नेकपाका संयोजक प्रचण्डले पनि ओलीकै जस्तो प्रतिवद्धता व्यक्त गरेका छन् । संविधानको रक्षा र राजनीतिक स्थिरतामा योगदानका निम्ति आफू उम्मेदवार बनेको उनले बताएका छन् । हरेक पटक निर्वाचन क्षेत्र फेर्ने प्रचण्ड यसपटक रूकुम पूर्व पुगेका छन् । जहाँबाट उनले भनेका छन्,, ‘एकथान सांसद्का लागि मात्रै म रूकुम पश्चिम आएको छैन । संविधानको रक्षा र मुलुकप्रतिको जिम्मेवारी पुरा गर्न म तपाइँहरूसँग आएको हो । म जहाँबाट लडेँ त्यहाँको मुहार मैले फेरेको छु ।’ यद्यपि उनको यो दाबी सही होइन ।
नेकपाका सहसंयोजक पूर्वप्रधानमन्त्री नेपालले राजनीतिलाई ट्र्याकमा फर्काउनका लागि आफ्नो उमेदवारी रहेको बताएका छन् । ‘अहिले राजनीतिक परिस्थिति फेरिएको छ । मुलुक संक्रमणकालमा छ । मुलुकलाई स्थिरताको लयमा फर्काउनका निम्ति, मधेस र देश दुबैको विकासका निम्ति मैले उमेदवारी दिएको छु,’ उनले भनेका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराई चुनाव नलड्ने पूर्वप्रतिवद्धताविपरीत गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा होमिएका छन् । वैकल्पिक राजनीतिमा आकर्षित युवाले अभिभावक मानेको र मतदाताको पनि सद्धभाव रहेकाले आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । मुलुकको परिवर्तित अवस्थामा भूराजनीति सन्तुलन आवश्यक रहेकाले त्यसमा योगदानका निम्ति उम्मेदवारी दिएको उनले बताएका छन् ।
‘मुलुकमा भूराजनीतिक सन्तुलन कायम गर्नुपर्ने अवस्था छ । भूराजनीतिक सन्तुलनमा योगदान पुर्याउनका निम्ति वैकल्पिक राजनीतिलाई नयाँ उचाइमा पुर्याउनका लागि म चुनावी प्रतिस्पर्धामा आएँ,’ उनले भनेका छन् । भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका हुन् ।
✏️ टिप्पणी लेख्नुहोस्