धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले अगाडि बढाएको सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अख्तियारले अनुसन्धान थालेको छ । गत १४ गते अख्तियारले पत्र पठाउँदै प्रतिष्ठानमा रकम अपचलन भएको आशंकामा छानबिन अगाडि बढाउने भएको हो । अख्तियारले प्रारम्भिक चरणमै दर्ता, विधान, पदाधिकारी, आर्थिक अभिलेख, आय(व्यय विवरण, बैंक खाताको स्टेटमेन्टदेखि जग्गा खरिद–बिक्रीसम्मका कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेको छ ।
चन्दा संकलनबाट सुम्निमा पारुहाङको मूर्ति बनाउने अभियान चलाइरहेका मेयर साम्पाङ अख्तियारको उजुरीप्रति क्रुद्ध बनेका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।आफूहरूले लामो समयदेखि सुम्निमा पारुहाङको प्रतिमा बनाउने कोसिस गरेको जिकिर गर्दै भनेका छन्, ‘हामीले गरेको राम्रो कोसिस देखि नसहेर कुन चाहिँ फटाहा, चोर, गधाले उजुरी हालेछ ।’
उनले यस्ता उजुरी आफ्नो लागि नौलो नभएको समेत बताए । धरानमा फूल रोप्दा, बिरुवा रोप्दा वा ९८ दिनमा कोकाहाबाट पानी ल्याउँदा पनि उजुरी परेको उनको भनाइ छ । अख्तियारले सोधेको प्रश्नको जवाफ हिजो नै पठाएको उनले जानकारी दिएका छन् । यस्ता खाले गतिविधिहरूलाई निरुत्साहित गर्नुपर्ने साम्पाङको मत छ ।
साम्पाङ भन्छन्, ‘मजस्तो कन्सेप्ट र भिजन भएको मान्छेले काम सुरु गर्दा यहाँ विकास विरोधीहरू थुप्रो छन् । देश बिग्रेकै यस्ता सडे गलेका, कुहिएको मनस्थिति भएका मान्छेहरूले गर्दा हो । हामीले प्रत्येक कुराको हिसाब देखाउँछौँ, देखाइरहेका छौँ । यहाँ त आफ्नो बारीमा मकै रोप्दा पनि मुद्दा लगाउँछन् । अब उजुरी/फुजुरी हाल्नेहरूले पनि माटो चुनाव चिह्नमा भोट हाल्नु खुरुक्क ।’
✏️ टिप्पणी लेख्नुहोस्