अमेरिकाको भर्जिनिया राज्यस्थित मनाससको एक घरमा गोली लागेर मृत्यु भएको अवस्थामा चार नेपालीको शव भेटिएको मनाससपार्क प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरको भुँइ तलामा बस्ने नेपाली परिवारका चारजना मृत फेला परेका हुन् ।
स्थानीय समय अनुसार बिहीबार राति १०.४० बजे घरधनीले प्रहरीलाई खबर गरी आफ्नो घरको भुँइतलामा बस्ने व्यक्तिहरुको अवस्था बुझ्न अनुरोध गरेका थिए। त्यसपछि प्रहरी घटनास्थल पुग्दा चार जना मृत फेला परेका थिए ।
मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, ८ वर्षीय बालिका र २ वर्षीय बालक रहेका प्रहरीले विज्ञप्तिमा जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको जनाएको छ। प्रहरीले यो घटनालाई आत्महत्या वा हत्या के हो भनेर अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा एउटा बन्दुक पनि फेला परेको छ।

✏️ टिप्पणी लेख्नुहोस्