अमेरिकी अनुसन्धानले चीनको ‘चाइना इस्टर्न एयरलाइन्स’को बोइङ ७३७ विमान चार वर्षअघि पाइलटले नियतवश दुर्घटनाग्रस्त बनाएको दाबी गरेको छ । चिनियाँ अधिकारीहरूलाई यसबारे पहिले नै जानकारी रहेको पनि अनुसन्धानमा उल्लेख छ ।
२१ मार्च २०२२ मा भएको उक्त दुर्घटनामा क्याप्टेनले जानाजानी विमानलाई करिब ३५० माइल प्रतिघण्टाको गतिमा ग्वाङ्सीस्थित पहाडमा ठोक्काएका थिए । दुर्घटनामा विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको थियो ।
अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड ९एनटीएसबी०का अनुसार विमानमा रहेका तीन पाइलटमध्ये एकले दुवै इन्जिन बन्द गरेका थिए भने अटो–पाइलट प्रणालीलाई पनि निष्क्रिय बनाइएको थियो ।
हालै सार्वजनिक गरिएको ‘फ्लाइट रेकर्डिङ’ले दुई पाइलटबीच विमानको नियन्त्रणलाई लिएर संघर्ष भएको देखाएको बताइएको छ । अन्ततः एक पाइलटले विमानलाई ठाडो रूपमा भिरालोतर्फ धकेल्न सफल भएको उल्लेख गरिएको छ । दुर्घटनाको समयमा विमानको गति ध्वनिको गतिको नजिक पुगेको बताइएको छ ।
बेइजिङले पीडित परिवार तथा सर्वसाधारणको दबाबका बाबजुद अहिलेसम्म यस दुर्घटनाको आधिकारिक प्रतिवेदन सार्वजनिक गरेको छैन । गत वर्ष चिनियाँ अधिकारीहरूले यस घटनासम्बन्धी जानकारी सार्वजनिक गर्दा राष्ट्रिय सुरक्षा र सामाजिक स्थिरतामा असर पर्न सक्ने दाबी गरेका थिए ।
अनुसन्धानअनुसार २९ हजार फिटको उचाइमा उडिरहेको बेला दुवै इन्जिनको इन्धन स्विच ‘रन’बाट ‘कट–अफ’ स्थितिमा सारिएको पाइएको थियो ।
कन्ट्रोल ग्राफहरूले एक पाइलटले विमानलाई तल धकेल्ने प्रयास गर्दा अर्काले त्यसलाई रोक्न प्रयास गरेको देखाएका छन् । दुवैले विपरीत दिशामा विमान मोड्ने प्रयास गर्दा ककपिटमा तनावपूर्ण संघर्ष भएको बताइएको छ ।
भोइस रेकर्डिङमा पाइलटहरूबीचको अन्तिम संवाद पनि कैद भएको जनाइएको छ । यसको ट्रान्सक्रिप्ट अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले बेइजिङलाई पठाएको भए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन । विमानको ककपिटमा ३२ वर्षीय क्याप्टेन याङ होङ्दा, ५९ वर्षीय झाङ झेङपिङ र २७ वर्षीय नी गोङ्ताओ रहेका थिए ।
अनुसन्धानको केन्द्रमा झाङ झेङपिङ रहेको बताइएको छ । उनी एयरलाइन्सका सबैभन्दा अनुभवी पाइलटमध्ये एक थिए । तर, सन् २०२२ को सुरुआतमै उनको पद क्याप्टेनबाट घटाइएको थियो । यही कारण उनले बदला लिन वा ‘हत्या–आत्महत्या’को बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ ।
चिनियाँ अधिकारीहरूले घटनालाई दबाउन खोजेको आरोप पनि लगाइएको छ । वाल स्ट्रिट जर्नलले दुर्घटनाको दुई महिनापछि नै ककपिटबाट प्राप्त सूचनाअनुसार विमान कसैले जानाजानी नियन्त्रण गरेको रिपोर्ट प्रकाशित गरेको थियो । तर, चिनियाँ सेन्सरहरूले सामाजिक सञ्जालबाट उक्त रिपोर्टका स्क्रिनसट तथा पाइलटको आत्महत्यासम्बन्धी दाबीहरू हटाएका थिए ।
विगत केही वर्षयता पाइलटद्वारा जानाजानी विमान दुर्घटनाग्रस्त बनाइएका घटनाहरू उड्डयन क्षेत्रको गम्भीर चिन्ताको विषय बनेका छन् । ब्लुमबर्गका अनुसार सन् २०११ देखि २०२० सम्म भएका विमान दुर्घटनामा मृत्युको दोस्रो ठूलो कारण यस्ता घटनालाई मानिएको छ ।
गत वर्ष अहमदाबादबाट लन्डनका लागि उडेको ‘एयर इन्डिया’को उडान १७१ दुर्घटनामा पनि २६० जनाको ज्यान गएको थियो । उक्त दुर्घटनाको अनुसन्धान प्रतिवेदन अर्को महिना सार्वजनिक हुने बताइएको छ ।
द सन/बाह्खरी
✏️ टिप्पणी लेख्नुहोस्