बितेको ११ महिनामा वैदेशिक रोजगारीका क्रममा एक हजार ३३३ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्ष २०८१र८२ का ११ महिनामा वैदेशिक रोजगारीका क्रममा उनीहरूको मृत्यु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डको विवरणानुसार, वैदेशिक रोजगारीमा गएका मध्ये जेठमा मात्र ११६ जनाको मृत्यु भएको छ । ०८१ साउन १ देखि ०८२ जेठ मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीमा गएका मध्ये प्रत्येक महिना औसतमा १२१ जनाभन्दा बढीको मृत्यु भएको बोर्डको तथ्यांक छ ।

गत आर्थिक वर्ष २०८०र८१ मा वैदेशिक रोजगारीका क्रममा एक हजार ३४६ जनाले ज्यान गुमाएका थिए । वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०७५र७६ मा ७६३, २०७६र७७ मा ६७२, २०७७र७८ मा एक हजार २४३, २०७८र७९ मा एक हजार ४७९ र २०७९र८० मा एक हजार २१ जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ ।

चालु आर्थिक वर्षका ११ महिनामा बोर्डले कल्याणकारी कार्यमा एक अर्ब १४ करोड २५ लाख ११ हजार ४० रुपैयाँ खर्च गरेको छ । त्यसमध्ये वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका एक हजार ३३३ जनाका परिवारलाई आर्थिक सहायतास्वरूप ८७ करोड ८२ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।

गत आर्थिक वर्ष २०८०र८१ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहायतास्वरूप ६९ करोड ९९ लाख पाँच हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ मा ‘वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने, अलपत्र परेका कामदारलाई स्वदेश फिर्ता गराउने, क्षतिपूर्ति दिने, कामदारको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने, वैदेशिक रोजगारको क्रममा मृत्यु भएका कामदारको शव नेपाल ल्याउनेलगायत वैदेशिक रोजगारमा गएका कामदारको हकहितको लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरिने’ उल्लेख छ ।

यसनिम्ति वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारले आफ्नो करार अवधिअनुसार कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । तीन वर्ष करार अवधि भएकाले एक हजार ५०० सय र त्योभन्दा बढी करार अवधि हुनेले दुई हजार ५०० रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ ।

वैदेशिक रोजगारीका क्रममा कुनै कामदारको मृत्यु भएमा कल्याणकारी कोषमा जम्मा रकमबाट बोर्डले परिवारलाई हाल १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ । आर्थिक वर्ष २०८०र८१ मा मात्र उक्त कोषमा एक अर्ब नौ करोड ४० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको थियो ।

बोर्डको तथ्यांकानुसार, चालु आर्थिक वर्षका ११ महिनामा उद्धार तथा खोजतलासमा ११ लाख, शव झिकाउन दुई करोड ८५ लाख २९ हजार, शव ढुवानी गर्न दुई करोड ७९ लाख ७८ हजार, पारिवारिक औषधोपचारका निम्ति एक करोड १७ लाख १० हजार, वैदेशिक रोजगारीका क्रममा अंगभंग भएका कामदारलाई आर्थिक सहायता १६ करोड ५१ लाख ७९ हजार र वैदेशिक रोजगार सन्तति छात्रवृत्तिमा दुई करोड ९७ लाख २० हजार रुपैयाँ खर्च गरिएको छ ।
बाह्खरीबाट साभार