केएसएल (काठमाडौं स्कुल अफ ल) मा ‘सामाजिक सञ्जाल र इन्टरनेटमा नकारात्मकताको प्रभावमाथि गहन विमर्श भएको छ । विमर्श हिजो २७ असारमा भएको हो ।

विमर्शमा वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारी, नेपाल सरकारका पूर्वमहान्यायाधिवक्ता एवम् केएसएलका कार्यकारी निर्देशक प्रा. युवराज संग्रौला (विद्यावारिधि), विशेष अदालतका पूर्वअध्यक्ष प्रेमराज कार्की, नेपाल खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाई (विद्यावारिधि), राष्ट्रिय मानवअधिकार आयोगका पूर्वआयुक्त सुदीप पाठक, नेपाल सरकारका पूर्वसचिव तथा केएसलका कार्यकारी अध्यक्ष गोविन्द कुसुम (विद्यावारिधि), पूर्वसचिव प्रतापकुमार पाठक, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख गणेश अधिकारी, प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव यज्ञ अधिकारी, नेपाल प्रहरी साइबर व्युरोका एसपी (प्रहरी उपरीक्षक) दीपकराज अवस्थी सहभागी थिए ।

त्यस्तै काठमाडौं विश्वविद्यालयका प्राध्यापक नारायण शर्मा, विज्ञ कपिल अर्याल, इन्टरनेट सेवा प्रदायक संस्थाका सुवास खडका, केएसएलका प्राध्यापकहरु भिष्म संग्रौला, अतिन्द्र दाहाल (विद्यावारिधि), उपप्रा. राजीव विष्ट, सुनगाभा बाटिका नेपालकी अध्यक्ष वीना बस्नेतलगायत सल्लाघारीस्थित मोर्डन स्कुल र केएसएलका दुई सय बढी विद्यार्थीहरुको विमर्शमा उत्साहजनक सहभागिता थियो ।

दायाँबाट क्रमश गोविन्द कुसुम, कृष्णप्रसाद भण्डारी, युवराज संग्रौला, सुदीप पाठक

केएसएल रिसर्च विभागका प्रमुख प्रा. प्रदीप पाठकले विमर्श कार्यक्रमको उद्देश्य बताउँदै कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सूचना तथा सञ्चारको व्यापक विकास भएसँगै सामाजिक सञ्जालको प्रयोगले सकरात्मक/नकरात्मक दुवै रुपमा पारेको प्रभावको विवरण पेश गरेका थिए । सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाउँदै लगेको र भावी पुस्ताका निम्ति यसले जोखिम झन् बढाएको उनको कार्यपत्रको सार थियो । पाठकले कार्यपत्रमा बीबीसी, साइबर ब्युरो, फ्रिडम फोरमका प्रतिवेदनका विवरणहरु उद्धृत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै प्रा. प्रदीप पाठक

नेपाल खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाईले सामाजिक सञ्जालमा नकारात्मकता फैलिनुको कारण सामाजिक संरचना नै भएकाले त्यही संरचनाभित्र समाधान खोज्नु पर्ने बताएका थिए । विमर्शका प्रमुख अतिथि वरिष्ठतम् अधिवक्ता भण्डारीले आफ्ना तर्क र विचारहरु प्रयोग गर्दा कानूनी चेत राख्नु पर्ने, नराख्नेहरुलाई कानूनी दायरामा ल्याउनु पर्ने सुझाव दिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारी, ९७

विज्ञ कपिल अर्यालले ‘सामाजिक सञ्जालको प्रयोगमा नेपालको कानुनी व्यवस्था र अभ्यास’ माथि प्रस्तुति दिएका थिए । उनले सन् २०२५ को अहिलेसम्म नेपाल प्रहरीको साइबर ब्युरोमा १९,७३० उजुरी दर्ता भएको तथ्याङ्क पेश गरेका थिए । साइबर सुरक्षा र कानूनसँग सम्बन्धित विषय पाठ्यक्रममा राख्नु पर्ने उनको सुझाव थियो । उनले सामाजिक सञ्जाल र ‘डिजिटल प्ल्याट फर्म’ बीच भिन्नता रहेको बताएका थिए । सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका निम्ति १८ वटा कानून रहेको र विशेष गरी विद्युतीय कारोबार ऐन, २०६३ प्रयोगमा आएको उल्लेख गरेका थिए ।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक नारायण शर्माले ‘सकारात्मक तथा आशावादी मनोविज्ञान निर्माणका चुनौती’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सामाजिक सञ्जालको प्रयोग घातक हतियारको रूपमा भइरहेकोले त्यसले तथ्य/प्रमाणबिना नै इमान्दार व्यक्तिलाई पनि पूर्वअपराधी ठहर्याउने प्रवृत्ति बढेको टिप्पणी गरे ।

पूर्वसचिव प्रतापकुमार पाठक

तेस्रो कार्यपत्र प्रस्तोता नेपाल सरकारका पूर्वसचिव प्रतापकुमार पाठकले ‘नेपालको सन्दर्भमा सामाजिक सञ्जालमा नकारात्मकताका चुनौती र अगाडि बढ्ने तरिका’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सामाजिक सञ्जालमा आएको नकारात्मकताका चुनौतीबारे लामै व्याख्या गरे । आर्थिक, भावनात्मक, राजनीतिक आयाममा निराश प्रवृति बढेकोले कानूनको पूर्ण कार्यान्वयन हुन नसकेको उनको प्रस्तुतिको सार थियो । पाठकले नकरात्मकता हटाउन डिजिटल साक्षरता, शैक्षिक हस्तक्षेप, जवाफदेहिता र कानून कार्यान्वयन बढाउन सुझाव दिएका थिए ।

कार्यपत्र प्रस्तुतिपछि विज्ञहरुको टिप्पणी सत्र राखिएको थियो । जस अन्तर्गत इन्टरनेट सेवा प्रदायकका तर्फबाट सुवास खड्का, प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव यज्ञ अधिकारी र साइबर व्युरोका एसपी दीपकराज अवस्थीले आ–आफ्ना अनुभव राखेका थिए । जो निकै महत्वपूर्ण थिए ।

प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बालकृष्ण बस्नेत

खड्काले इन्टरनेट प्रयोगमा ‘डाटालिक’ मुख्य समस्या रहेको बताए भने प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बस्नेतले तथ्यमा भन्दा हल्लाको पछि दौडने प्रवृत्ति बढेको सुनाए । सामाजिक सञ्जालको नकारात्मक प्रयोग हटाएर सकरात्मकता ल्याउनका लागि सरकारको मात्रै भर नपरेर व्यक्तिगत रुपमा समेत सचेत हुन जरुरी रहेको बस्नेतको सुझाव थियो ।

साइबर व्युरोका एसपी दीपकराज अवस्थी

माानवअधिकार आयोगका सहसचिव यज्ञ अधिकारीले सामाजिक सञ्जालमा नकरात्मकताको बाढी आएकोले आत्महत्याको दर समेत ह्वात्तै बढेको विवरण पेश गरेका थिए । उनले सरकारले सामाजिक सञ्जालको प्रयोगको निम्ति नियन्त्रण भन्दा पनि नियमन गर्नुपर्ने, सामाजिक सञ्जालको नकारात्मकता हटाउन चेतनामूलक अभियाउन चलाउनु पर्ने सुझाव दिएका थिए । अर्का विज्ञ एसपी दिपकराज अवस्थीले सुरुमा प्रविधि भित्रिएपछि मात्र देशमा कानून बन्ने अनुभव साझा गरेका थिए । नेपालको कानूनमा ‘साइबर क्राइम’ स्पष्ट परिभाषा समेत नभएको अवस्थीको भनाइ थियो ।

मानवअधिकार आयोगका सहसचिव यज्ञ अधिकारी

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुदीप पाठक, केएसएलका कार्यकारी निर्देशक प्रा. युवराज संग्रौला र पूर्वगृहसचिव गोविन्द कुसुमले विमर्शको समापन मन्तव्य दिएका थिए । त्यसक्रममा पाठकले चिन्तनशील हुनु पर्ने, अरुको आदर-सम्मानमा ध्यान दिँदै निरन्तर सत्यको बाटोमा हिँड्ने प्रयास गरे सकरात्मकता बढ्ने सुझाव दिएका थिए ।

कार्यक्रममा आफ्नो सुझाव राख्दै सुदीप पाठक

प्रा. संग्रौलाले कार्यपत्र प्रस्तोता, विज्ञ सहभागीहरूबाट व्यक्त विचारको सार संक्षिप्त गर्दै आफ्ना विचार राखेका थिए । संग्रौलाले भनेका थिए, “सामाजिक सञ्जालमा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन भन्ने ध्यान दिन विलम्ब भइसकेको छ । इन्टरनेट, सामाजिक सञ्जालको प्रयोग र पहुँचबाट कसैलाई पनि टाढा राख्न हुँदैन । तर, यसलाई मर्यादित बनाउन जरुरी भइसकेको छ ।”

कार्यक्रममा आफ्नो विचार राख्दै प्रा. युवराज संग्रौला

सामाजिक सञ्जाललाई नियमन गर्न र अनुशासित बनाउन प्रहरी, राष्ट्रिय मानवअधिकार आयोग र समाजका विज्ञहरुसहितको ‘मोनिटरिङ युनिट’ गठन गर्नु पर्ने प्रा.संग्रौलाको धारणा थियो । उनले थपेका थिए, “त्यस्तो मोनिटरिङ युनिट निर्माणका लागि काठमाडौं स्कुल अफ ल इन्टरनेट सेवा प्रदायक कम्पनी, नेपाल प्रहरी, राष्ट्रिय मानवअधिकार आयोगलगायत सरोकारवाला विज्ञहरुसँग मिलेर काम गर्न तयार छ । हामी यहाँहरुसँग सहकार्य गर्न सधैँ तयार छौँ ।” संग्रौलाले नैतिकताको सिद्धान्तमाथि समेत आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा समापन मन्तव्य राख्दै गोविन्द कुसुम

केएसएलका कार्यकारी अध्यक्ष गोविन्द कुसुमले विमर्शमा सहभागी सबैलाई धन्यवाद दिँदै समापन मन्तव्य दिएका थिए । समाजमा सकरात्मकता बढाउनका लागि सरकारी, निजी र पारिवारिक क्षेत्रमा सचेतना बढाउन पर्ने कुसुमको सुझाव थियो । कार्यपत्र प्रस्तोता तथा विज्ञहरुलाई मायाको चिनो दिएर कार्यक्रम अन्त्य गरिएको थियो ।

कार्यक्रममा सहभागीहरु

केएसएलको साखमा नकरात्मक भ्रम नछर्न महिला आयोगलाई उच्च अदालतको आदेश – Nepal Muhar


काठमाडौं स्कुल अफ ल विरुद्ध स्वार्थ समूहः बिएएलएलबीको नयाँ भर्नाको सूचनासँगै फेरि सुनियोजित आक्रमण – Nepal Muhar

देश विकासको प्रारम्भिक बहसमाथिको प्रतिस्पर्धामा कृतिका आचार्यले जितिन् ५० हजार नगद र ट्रफी – Nepal Muhar

‘काठमाडौं स्कुल अफ ल अकाउन्टेबिलिटी समूह’को कुतर्कः कानुनी राजप्रति चिन्ता ! – Nepal Muhar

काठमाडौं स्कुल अफ ल ले गर्यो अभिभावक भेला, पहिलाको भन्दा उत्कृष्ट पठनपाठनका लागि अभिभावकको दबाब – Nepal Muhar

काठमाडौ स्कुल अफ लः नागरिक समाज र नेपाल बार एसोसियसन कहिलेसम्म रमिते ? – Nepal Muhar

काठमाडौं स्कूल अफ ल र कार्यकारी निर्देशक युवराज संग्रौलामाथि योजनावद्ध आक्रमण – Nepal Muhar