जनप्रदर्शनमा भाग लिएका जनतामाथि गोली हाने उद्धारका लागि अमेरिका इरान जाने भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति इरानको विदेश मन्त्रालयले आपत्ति जनाएको छ । इरानले यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कदम भनेको छ ।
संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूत अमिर सइद इरावानीले संयुक्त राष्ट्रसंघका महासचिव र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (यूएनएससी) का अध्यक्षलाई पत्र लेखेर देशमा भइरहेका प्रदर्शनहरूका बीच अमेरिकी राष्ट्रपति ट्रम्पबाट तेहरानप्रतिको अवैध धम्कीहरूको निन्दा गर्न आग्रह गरेका छन् ।
हिजो शुक्रवार पठाइएको पत्र ट्रम्पले इरानमा भइरहेका प्रदर्शनहरूमा कुनै पनि प्रदर्शनकारी थप मारिएमा अमेरिका इरान जान तयारी अवस्थामा रहेको भन्दै चेतावनी दिएको केही घण्टापछि आएको हो । ट्रम्पले शुक्रबार इरानमा भइरहेका विरोध प्रदर्शनहरूको सम्बन्धमा इरानी सरकारलाई चेतावनी दिँदै प्रदर्शनकारीहरूलाई सहयोग गर्ने आश्वासन दिएका थिए ।
उनले भनेका थिए, “यदि, इरानले शान्तिपूर्ण प्रदर्शनमा सहभागीहरूमाथि गोली चलायो र उनीहरूलाई क्रूरतापूर्वक मार्यो भने अमेरिका प्रदर्शनकारीहरूलाई बचाउन आउनेछ ।” बीबीसी फारसी सेवाका अनुसार, ट्रम्पको यो भनाइमा इरानको विदेश मन्त्रालयले भनेको छ, “यस्तो प्रकारको गैरजिम्मेवार प्रवृत्तिले इरानप्रतिको अमेरिकाको गुण्डागर्दी र अवैध व्यवहारको विस्तार हो । यो संयुक्त राष्ट्र चार्टर र अन्तर्राष्ट्रिय कानुनका मौलिक सिद्धान्त तथा नियमहरूको गम्भीर उल्लंघन हो । इरानका नागरिकहरूविरुद्ध हिंसा र आतंकवाद उक्साउने कार्य हो ।”
इरानको विदेश मन्त्रालयले चेतावनी दिँदै भनेकोे छ, “यस्तो स्थितिले सम्पूर्ण क्षेत्रलाई झन् अस्थिर बनाउन सक्छ । यसका परिणामहरूको जिम्मेवारी पूर्णरूपमा अमेरिकी सरकारको हुनेछ ।” इरानमा ६ दिनदेखि देशको खराब हुँदै गएको आर्थिक स्थिति र महँगाईविरुद्ध विरोध प्रदर्शनहरू भइरहेका छन् । यस क्रममा धेरै सहरहरूमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडपहरू भएका छन् । यी झडपहरूमा ८ जना मारिएका छन् । यसबाहेक प्रहरीले धेरै व्यक्तिहरू गिरफ्तार गरेको छ ।
अलजजिरा/बाह्खरी
✏️ टिप्पणी लेख्नुहोस्