भारतीय रुपियाँको प्रभाव घटाउँदै जनतालाई औपचारिक बैङ्किङतर्फ डोर्‍याउने श्रेय पाएको नेपाल बैङ्क लिमिटेडले ८९ वर्षको यात्रा तय गरेको छ । लेजर बुक, धातुको टोकन र पासबुकमार्फत सुरु भएको यसको यात्रा अब पूर्ण डिजिटल बैङ्किङतर्फ उन्मुख भएको छ ।

नेपालको जेठो वाणिज्य बैङ्क नेपाल बैङ्क आइतबारदेखि औपचारिक रूपमा ८९ औँ वर्षमा प्रवेश गरेको हो । विसं १९९४ कात्तिक ३० गते स्थापना भएको यो बैङ्कबाट नै नेपालमा संस्थागत बैङ्किङ प्रणालीको सुरुवात भएको हो ।

भारतीय रुपियाँको छायाबाट नेपाली मुद्रालाई उठाउँदै जनतामा ‘बैङ्क’ अभियानसहित अघि बढेको यो बैङ्क अहिले आधुनिक प्रविधि र जुझारु युवा जनशक्तिसहित देशभर सेवा प्रवाह गरिरहेको छ । सरकारी स्वामित्वमा सुरु भए पनि सार्वजनिक–निजी साझेदारी (पिपिए) मोडेलमा १० जना लगानीकर्ताको लगानीबाट प्रारम्भ भएको नेपाल बैङ्कले अहिले देशव्यापी सञ्जाल फैलाइसकेको छ ।

नेपाल बैङ्कले समय मात्र नभई एक राष्ट्रको आर्थिक चेतना परिपक्व हुँदै गएको प्रमाण पेस गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बताए । नेपालको बैङ्किङ इतिहासको जननीका रूपमा रहेको यो बैङ्कले अहिले समय अनुसार अपगे्रड भइरहेको उनले जानकारी दिए । गत आवको असार मसान्तसम्ममा तीन अर्ब ७७ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको बैङ्कको समग्रमा वित्तीय स्वास्थ्य राम्रो छ ।

सस्तो ब्याजदर भएकै कारण पहिलेदेखि नै नेपाल बैङ्क कर्जाका लागि आकर्षक रहेको सिइओ पाण्डेयले बताए । विश्वसनीयताकै कारण ग्राहकहरू निरन्तर आइरहेको उनको भनाइ छ । कर्जा र निक्षेप विस्तार भइरहेको बैङ्कमा चाालु आवको पहिलो त्रैमाससम्ममा दुई खर्ब ३६ अर्ब रुपियाँ कर्जा प्रवाह भएको छ भने निक्षेप तीन खर्ब ४२ अर्ब रुपियाँ रहेको छ । सञ्जाल विस्तारका हिसाबले ७१ जिल्लामा बैङ्क पुगेको छ । देशका विभिन्न स्थानमा २३१ वटा शाखा, ६१ वटा एक्सटेन्सन काउन्टर र २३७ वटा एटिएम सञ्चालनमा छन् ।

बचतकर्ता र ऋणीसमेत गरेर बैङ्कसँग अहिले करिब २७ लाख ग्राहक रहेको जानकारी दिँदै उहाँले पूर्ण रूपमा प्रतिस्पर्धी र आधुनिक बैङ्कका रूपमा नेपाल बैङ्क अग्रसर रहेको बताए । सरकारी स्वामित्वमा रहे पनि नियामक निकायको नियमनमा बसेर काम गर्न निजी क्षेत्रका बैङ्कसँग काँधमा काँध र कुममा कुम जोडेर बैङ्क अगाडि बढिरहेको उनले बताए ।

अहिले कर्जाको तुलनामा निक्षेप उच्चदरले बढिरहेको भन्दै उहाँले यसलाई व्यवस्थापन गर्नका लागि उपयुक्त अवसर नभएको बताए । अहिले बजारमा आइरहेको हल्लाले देशको अर्थतन्त्रको भविष्यबारे चिन्ता प्रकट भइरहेको अवस्थामा बैङ्किङ क्षेत्रमा प्रशस्त मात्रामा तरलता रहेको उनको भनाइ छ ।

स्थापनाकालमा भारतीय मुद्रा विस्थापन गर्न मुख्य भूमिका खेलेको नेपाल बैङ्क संस्थागत सामाजिक उत्तरदायित्वमा अगाडि रहेको भन्दै उनले नेपाली बैङ्किङ क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण छाप बसाल्दै केही महत्वपूर्ण काम पनि गरेको बताउँछन् । बैङ्क भनेको थाहा नभएका आमसर्वसाधारणलाई बैङ्क सिकाउनेसम्मको भूमिका बैङ्कले खेलेको उनको भनाइ छ ।

साहुबाट भन्दा पनि बैङ्कबाट ऋण लिनु पर्छ भन्ने पाठ नेपाल बैङ्कले नै सिकाएको विगत सम्झँदै उनले भने, “बैङ्कले सुरुवाती दिनमा लेजर बुक, धातुको टोकन माध्यमबाट निक्षेप बुझी भुक्तानी दिने, कारोबारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिने, रुपियाँ, पैसा घडा तथा बाकसमा हैन बैङ्कमा राख्नुपर्ने अवस्थाबाट अहिले डिजिटल बैङ्कमार्फत कारोबार र प्रतिस्पर्धामा उत्रेको छ ।” आमजनतामा बचत गर्ने बानीको विकास गर्दै उद्योग व्यवसायका लागि कच्चा पदार्थ आयात गर्न, देशमा उत्पादित वस्तु निकासी गर्न मद्दत पुगोस् भन्ने अभिप्रायले यो बैङ्क खोलिएको उनले स्पष्ट पारे ।

आठ लाख ४२ हजार रुपियाँ पुँजीमा स्थापना भएको नेपाल बैङ्क तत्कालीन साहु महाजनका निजी डिलर तथा व्यापारिक केन्द्रमा सीमित रहेको वित्तीय कार्य (मौद्रिक लेनदेन) लाई औपचारिक माध्यमबाट सञ्चालन गर्न, जनतामा बचत गर्ने बानीको विकास गर्दै उद्योग व्यवसायका लागि कच्चा पदार्थ आयात गर्नकै लागि खोलिएको उहाँले बताए । साथै देशमा उत्पादित वस्तु निकासी गर्न मद्दत पुगोस् भन्ने अभिप्रायले सरकार तथा निजी क्षेत्रको संयुक्त लगानीमा यो बैङ्क स्थापना गरिएको बैङ्कका सिइओ पाण्डेयले बताए ।

बैङ्कले ८९ वर्षको अवधिमा विभिन्न उतारचढाव सामना गर्दै अहिले अन्य सरकारी तथा निजी बैङ्कसँग प्रतिस्पर्धा गरिरहेको छ । सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको बैङ्क अहिले नयाँ नयाँ प्रविधिको प्रयोगले आमग्राहकलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ । नेपाली बैङ्क बजारमा अत्याधुनिक प्रविधिमैत्री, प्रभावकारी कर्मचारी र देशभर शाखा सञ्जाल भएको बैङ्कका रूपमा नेपाल बैङ्क परिचित छ ।

बैङ्क सेवाको हिसाबले नेपाल बैङ्कमा रहेको अहिलेको जनशक्ति जुझारु युवाको काँधमा पुगेको छ । बजारमा रहेको सक्षम जनशक्तिले यो बैङ्क हाँकेको छ । अहिले नेपाल बैङ्कका कर्मचारीको औसत उमेर ३६ रहेको छ । बैङ्कसँग २१ वर्षदेखि ५७ उमेर पुगेका कर्मचारी छन् । नेपाल बैङ्कमा सबै युवा कर्मचारी छन् । पुरानो बैङ्क भए पनि कर्मचारी सबै नयाँ पुस्ताका छन् । बैङ्कको बाहिरबाट बोर्ड र भवन हेरेर बैङ्कको मूल्याङ्कन गर्ने परिपाटी अब नरहेको सिइओ पाण्डेयले बताए । बैङ्क हामी अस्तीभन्दा हिजो उन्नत, हिजोभन्दा आज उन्नत र आजभन्दा भोलि उन्नत, गुणस्तरीय, भरपर्दो र अत्याधुनिक बैङ्क सेवा उपलब्ध गराउन सदैव प्रयत्नशील रहेको उनले बताए ।
भेषराज बेल्बासे/गोरखापत्र