‘सुरक्षाको प्रत्याभूति सरकारले दिनुपर्छ’

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचनमा लाग्न दलहरूलाई आग्रह गरेका छन् । परिवर्तित अवस्थाको संकटबाट निकासका लागि निर्वाचन एक मात्र विकल्प भएको भन्दै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरेका हुन् ।

सरकार बनेको एक महिना हुन लाग्दा समेत प्रधानमनत्रीबाट दलहरूसँग संवाद नहुँदा राष्ट्रपतिले नै प्रधानमन्त्री र मन्त्रीहरूसहित दलका नेताहरूलाई एक ठाउँ राखेका छन् । बैठकमा सहभागी दलका एक नेताकाअनुसार उनले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकसँगै दलहरूलाई दिलाउन सरकारलाई सुझाव दिएका थिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताएका थिए । पौडेलले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थाले त्यसले देशलाई अझ जोखिममा धकेल्नेतर्फ सचेत गराएका थिए । “पार्टीहरूले पनि कन्फ्युजन सृजना नगरी जेनजीको माग पनि आफूहरूले पूरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो,” बैठकमा सहभागी एक नेताले भने ।

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू निर्वाचनमा जान सधैँ तयार रहने भन्दै सुरक्षा अवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुनेमा ढुक्क हुन नसकिएको बताएका थिए । उनीहरूले यस्तो संसय हटाएर निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारले सक्नुपर्ने बताएका थिए ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन सम्भव नहुनेमा सरकार प्रष्ट जानकार रहेको बताएकी थिइन् । उनले स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रवन्ध गर्ने विश्वास दिलाउँदै जेनजीहरू हामीहरूकै छोरा–नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात् गर्न आग्रह गरिन् ।
उक्त बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपीनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी थिए ।

जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत् बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट डा. चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापतिको उपस्थिति थियो ।