प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तीन दिनको हुने तय भएको छ । भारतीय विदेशसचिव विक्रम मिश्रीको दुईदिने नेपाल भ्रमणको समयमा प्रधानमन्त्री ओलीको भारत भ्रमण तीन दिन तय गरिएको हो । भारतीय विदेशसचिव मिश्री दुईदिने नेपालको औपचारिक भ्रमण सम्पन्न गरी हिजो साँझ स्वदेश फर्किएका छन् ।
“प्रभानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने भएको छ । भ्रमणको मिति भदौ ३० देखि असोज १ गतेसम्मको लागि तय गरिएको छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतको भनाइ छ । प्रधानमन्त्री ओली काठमाडौंबाट चाटर्ड उडानमार्फत भारतको बिहार राज्यको बोधगया जानेछन् । बोधगया गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ हो । विगतमा भारत भ्रमणमा जाने प्रधानमन्त्रीहरु पहिले राजधानी नयाँदिल्ली जाने परम्परा थियो । ओलीले त्यो परम्परा तोडेका छन् । “यसपटक सबै द्विपक्षीय भेटवार्ता बोधगयामा हुनेछन्,” परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणमा दुई देशबीच कुनै सन्धि, सम्झौता नहुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । “सुपुर्दगी सन्धि भारतको प्राथमिकतामा भए पनि नेपालले त्यसलाई प्राथमिकतामा राखेको छैन,” परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।
ओली २०८१ असार ३१ गते प्रधानमन्त्री भएपछि यो पहिलो भारत भ्रमण हो । भलै, प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुईपटक भेटवार्ता गरेका छन् । गत वर्ष संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने क्रममा थाइल्यान्डको बैंककमा उनीहरूबीच भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री ओली भारत जानुअघि चीनको भ्रमणमा जाने तयारीमा छन् । सांघाई सहयोग संगठन (एससीओ) को २५औँ शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् । सांघाई सहयोग संगठनको शिखर सम्मेलन भदौ १५ देखि १६ सम्म चीनको तियानजिमा हुँदैछ । सम्मेलनमा संगठनका सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरू सहभागी हुनेछन् ।
सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदै छन् । तियानजिमा पनि प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुनेछ ।
✏️ टिप्पणी लेख्नुहोस्