राष्ट्रिय प्रजातन्त्र पार्टीले आज अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा आज दिउँसो अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुग्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । सो टोली दिउँसो १ः०० बजे टंगाल पुग्नेछ ।

‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना भ्रष्टाचारका ठूला ठूला काण्डहरु सम्भव नै छैन। हामी भ्रष्टाचारका सबै काण्डहरुको शीघ्र अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन, आयोगको ध्यानाकर्षण गराउन र दबाव दिन केन्द्रीय कार्यालय टंगालमा पुग्नेछौं। राप्रपाले भ्रष्टाचार विरुद्ध प्रदर्शन सहित आयोग समक्ष ज्ञापनपत्र पेश गर्नेछ,’ उनले भने ।

उनका अनुसार गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरु, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरुमा समेत चरणबद्ध रुपमा भ्रष्टाचार विरुद्धको दबावमूलक अभियान सञ्चालन गर्नेछ।