राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका सहिदका परिवारसँग छलफल गरेका छन् । आज शनिबार अपरान्ह (पुस ५) काठमाडौं आएलगत्तै बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालयमा पुगेर उनले छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाको हत्या गरिएको भन्दै सहिद परिवारको न्यायका निम्ति लड्ने बताए । सुशासन कायम गर्ने दिशामा सरकारलाई रास्वपाको पूर्ण साथ रहने उनले उल्लेख गरे ।

लामिछानेले जेनजी र सहिद परिवारको मागलाई पूरा गर्न रास्वपा र आफ्नो ऐक्यबद्धता रहने बताए । जेनजी आन्दोलनका क्रममा छानीछानी हत्या गरिँदा पनि कारबाही गर्न सरकारले अग्रसरता नदेखाएको सहिद परिवारले गुनासो गरेको लामिछानेले जानकारी दिएका छन् ।