आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगरले सरकारको मनोमानी कर आतंकले मुलुकको आर्थिक अवस्था धरासायी बनाउदै गइरहेको बताएका छन् ।

धनकुटाको पाख्रीबास नगरपालिकामा शनिबार आजपाको जिल्ला भेलालाई सम्बोधन गर्दै सहअध्यक्ष थापाले सरकारपिच्छेको मनोमानी कर आतंकले उधोग, व्यापार व्यवसाय अगाडी बढन नसकेको बताए ।

‘अहिले तीन तहको सरकार छ । ७६० वटा सरकारको आफ्नै कर नीति छ । सरकारपिच्छेको सरकार र मनोमानी करले उधोग, व्यापार, व्यवसाय धरासायी बन्दै गइरहेको छ । मुलुकको आर्थिक अवस्था धरासायी हुनुको मुख्य कारण सरकारको मनोमानी कर आतंक नै हो,’ आजपा सहअध्यक्ष थापाले भने, ‘यसका बिरुद्धमा आजपाले निरन्तर आवाज उठाउदै आएको छ । सरकारको मनोमानी कर आतंक बिरुद्ध एकजुट भएर आन्दोलनमा जानुको बिकल्प अब हामीसंग छैन् ।’

बिचौलियाले बनाइदिएको नेपाली कांग्रेस, नेकपा (एमाले)को गठबन्धन सरकार पनि बिचौलिया, भ्रष्ट, दलाल, लुटेराकै लागि काम गरिरहेको बताउदै उनले मुलुकमा भ्रष्टाचार दिनदिनै बढिरहेको टिप्पणी गरेका छन् ।

सरकारले ठुला भनिएका भ्रष्टाचारको फाइल नै खोल्न र अनुसन्धान गरी भ्रष्टहरुलाई कारवाही गर्नबाट डराइरहेको उनले बताए । अहिले दुई तिहाईको शक्तिशाली सरकार भनिए पनि सर्वसधारण, श्रमजीवि बर्गको पक्षमा नभई यो शक्तिशाली सरकारले बिचौलिया, भ्रष्ट, दलालको पक्षपोषणमा लागेको थापाले बताए ।

पाख्रीबासमा भएको जिल्ला भेलाले आजपाको धनकुटा जिल्ला कमिटी गठन भएको छ । ५१ सदस्यीय जिल्ला कमिटीको इन्चार्जमा प्रेमबहादुर थापा, अध्यक्षमा पुष्पा पाण्डे, उपाध्यक्षमा हिरा थापा, भुपाल कार्की, कृष्ण थापा र सचिवमा लक्ष्मी बस्नेत (थापा) रहेका छन् । यसैगरी सदस्यहरुमा नागेन्द्र तामाङ, टिकामाया थापा, चेतबहादुर भट्टराई, दिपा घिमिरे, नारायण कार्की, अनिता भट्टराई लगायतका रहेको इन्चार्ज प्रेमबहादुर पाण्डेले जनाएका छन् ।