नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रवक्ताको जिम्मेवारी प्रकाश ज्वालालाई दिएको छ । हिजो सोमबार (वैशाख १४) पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकबाट ज्वालालाई प्रवक्ताको जिम्मेवारी दिइएको कार्यालय सचिव गोविन्द आचार्यले जानकारी गराए ।

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा प्रतिष्ठान प्रमुखको जिम्मेवारी दिइएको छ । अर्का वरिष्ठ नेता वामदेव गौतमलाई उत्पादन विभाग प्रमुखको जिम्मेवारी दिइएको उनले बताए ।

नेता बेदुराम भुसाललाई स्कुल विभाग प्रमुख तोकिएको छ । प्रमेश हमाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको आचार्यले जानकारी दिए ।

नेकपा गठनको सात महिनापछि बल्ल नेताहरूलाई जिम्मेवारी दिइएको हो । समितिको बैठक आज (वैशाख १५) पनि जारी छ ।