बाक्लो हिमपातपछि मनाङ, मुस्ताङ र म्याग्दीका उच्च हिमाली क्षेत्रबाट ९४९ जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार कात्तिक ११ गते रातिदेखि परेको हिउँमा फसेका स्वदेशी र विदेशी पर्यटकको उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मनाङबाट ७६५, मुस्ताङबाट २२ जना र म्याग्दीबाट १६२ जनाको सकुशल उद्धार गरेको हो ।

उनले भने, “मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिमसमेत सञ्चालन गर्न थालेपछि यस पटक हिमपातमा फसेका सबै नागरिकको सकुशल उद्धार सहज भएको छ । उक्त तीन वटै जिल्लामा प्रतिकूल मौसमका कारण हेलिकोप्टरको उडान सम्भव नभएपछि स्थलमार्गबाटै टोली परिचालन गरेर उद्धार गरिएको हो ।” हालसम्म मनाङबाट ६५० स्वदेशी र एक सय विदेशी, मुस्ताङबाट १२ जना स्वदेशी र १० जना विदेशी, म्याग्दीबाट १४५ स्वदेशी र १७ जना विदेशी गरी ९३४ जनाको उद्धार गरिएको तथा मनाङको तिलिचो बेसक्याम्पमा फसेका १५ जनाको उद्धार जारी रहेको उनले बताए ।

अन्नपूर्ण बेसक्याम्पबाट १६२ को उद्धार

कात्तिक ११ गते सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट खटिएको टोलीले अन्नपूर्ण आधारशिविर (बेसक्याम्प) मा शुक्रबार बिहान १७ विदेशी पर्यटकसहित १६२ जनाको उद्धार गरेको उनले बताए । त्यहाँ हिउँपहिरो गइरहेको र अब त्यस क्षेत्रमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक नरहेको उनले जानकारी दिए । बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्तालगाउन नसकेर अलपत्र परेका पर्यटकको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो । उद्धार गरिएकाहरूलाई गुफाफाँट, सादीखर्कलगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ ।

हिडन भ्यालीबाट १५ को उद्धार

म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–४, मुदी हुँदै राउन्ड धवलागिरि पदयात्रामा गएका तीन विदेशीसहित १५ जना पदयात्रीलाई मुस्ताङबाट खटिएको नेपाली सेनासहितको टोलीले सकुशल उद्धार गरी जोमसोम ल्याएको छ ।

धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङको मार्फा झर्ने क्रममा सोमबारदेखि परेको हिमपातका कारण तीन जना ब्रिटिस महिला पर्यटकसहित १५ जना मुस्ताङको हिडन भ्यालीमा अलपत्र परेका थिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुस्ताङबाट नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितको संयुक्त टोलीले शुक्रबार सकुशल उद्धार गरी जोमसोम ल्याएको जानकारी दिए। उद्धार गरिएको सो स्थान हिडन भ्याली धवलागिरि र सीता हिमालबिचको भन्ज्याङ (पास) काटेर तल टुक्चेपिकको पछिल्लो पाखा समुद्र सतहदेखि पाँच हजार एक सय मिटर उचाइमा पर्दछ । सो क्षेत्रमा सञ्चार सम्पर्कसमेत हुन सक्दैन । मुस्ताङको सदरमुकाम जोमसोमबाट पैदल हिँडेर जानुपर्ने भएको हुँदा उद्धारमा केही समय लागेको बताइएको छ ।

घाइतेको उद्धार हुन सकेन

त्यस्तै मनासलु क्षेत्रमा घाइते पर्यटकको दुई दिनदेखि उद्धार हुन सकेको छैन । मनासलु क्षेत्र घुम्न गएका आन्तरिक पर्यटक काठमाडौँ टोखा नगरपालिका–६ का ४४ वर्षीय मिनुइन्द्र लम्सालको दुई दिनदेखि उद्धार हुन नसकेको हो । बिहीबार बिहान ११ बजे चुमनुब्री गाउँपालिका–५, बिहीमा पैदल हिँडिरहेका बेला अचानक भिरबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते लम्साललाई प्रतिकूल मौसमका कारण उद्धार गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । घाइते लम्सालको टाउकोमा गम्भीर चोट छ । उनलाई स्थानीय स्वास्थ्यकर्मीको हेरचाहमा स्थानीयको एक घरमा राखिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उक्त घटनास्थल इलाका प्रहरी कार्यालय लार्केबाट दक्षिणतर्फ पर्ने बुरनभिरबाट चार घण्टा पैदल दुरीमा रहेको छ ।

उद्धारको पर्खाइमा आरोही

गोरखाको पाङ्वारी हिमाल आरोहणका क्रममा फसेका तीन इटालेली र तीन नेपाली नागरिकको उद्धार हुन सकेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पाङ्वारी हिमालको आधार शिविरमा रहेका चार जना र पहिलो शिविरमा फसेका दुई जनाको प्रतिकूल मौसमका कारण तीन दिनदेखि उद्धार हुन नसकेको हो ।

पहिलो आधार शिविरमा पाँच फिटसम्म र आधार शिविरमा धेरै हिमपात भएकाले स्थलमार्ग भएर उद्धार सम्भव नरहेकाले मौसममा सुधार आएलगत्तै हेलिकोप्टरबाट उद्धार गरिने उनले जानकारी दिए ।

उनका अनुसार जिल्लाको चुमनुब्री–३, न्याकफेदीनेर खसेको पहिरोमा परेर चेक रिपब्लिककी ५४ वर्षीय महिला पर्यटक पुरिएकी छन् । आफ्ना श्रीमान्सहित मनासलु क्षेत्रको भ्रमण सकेर फर्किंदै गर्दा उनी शुक्रबार दिउँसो पहिरोमा परेर पुरिएकी हुन् । घटनास्थल मानव बस्तीबाट निकै टाढा रहेको छ । सँगै रहेका उनका श्रीमान् सकुशल छन्।

‘मोन्था’ असर कम हुन सक्ने

बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको असर नेपालमा मत्थर हुँदै गएको छ । यतिबेला भारतको छत्तिसगढ आसपासमा न्यून चापीय क्षेत्रका रूपमा रहेको चक्रवातको असर शुक्रबार रातिदेखि नै नेपालमा कमजोर बन्दै गएको हो । मोन्थाको प्रभाव कम भएसँगै शनिबारदेखि क्रमिक रूपमा मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शुक्रबारसम्म निरन्तर वर्षा भइरहेकामा शुक्रबार साँझदेखि मध्य क्षेत्रमा वर्षा हुन कम भएको छ । चक्रवातको प्रभाव पूर्वतर्फ सरेकाले पूर्वी र मधेश प्रदेशका केही भूभागमा अझै वर्षा भइरहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार नेपालमा मोन्थासँगै पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले केही दिन केही भूभागमा बदली तथा हल्कादेखि फाट्टफुट्ट वर्षा कायम रहने भएको छ । सोमबारदेखि भने अझ सुधार हुने सम्भावना रहेको जनाइएको छ ।
मीनराज भण्डारी/गोरखापत्र